हाम्रो पेज
विराटनगर, ३० जेठ I कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालकालागि चिनियाँ राजदूत चेन सङबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। कोशी प्रदेशको भ्रमणमा रहनुभएका राजदूत सङसँगको भेटमा दुई पक्षीय हित, आर्थिक सहकार्य र पूर्वाधार विकासका विषयमा महत्त्वपूर्ण कुराकानी भएको छ।
भेटघाटका क्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा गरिरहेको कामबारे जानकारी गराउँदै चीन सरकारसँग सहयोगका लागि आग्रह गर्नुभयो। विशेषगरी, उहाँले किमाथांका जोगबनी सडक को रणनीतिक महत्त्वमाथि प्रकाश पार्दै यसले नेपालको पर्यटन र समग्र विकासमा कोशेढुंगा साबित हुने बताउनुभयो। जवाफमा, राजदूत सङले कोशी प्रदेशको कृषि उत्पादनलाई प्रविधिसँग जोडेर गुणस्तरीय बनाउन सके विश्व बजारमा सजिलै विस्तार गर्न सकिने सुझाव दिनुभयो। उहाँले प्रदेशको कृषि उत्पादनको बजारीकरणमा गहिरो चासो व्यक्त गर्नुभएको थियो।
राजदूत सङले किमाथांका नाकाको विषयमा विशेष चासो राख्दै चीनतर्फको पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको तर, नेपालतर्फको काम अझै हुन नसकेको विषयमा ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपालतर्फको निर्माण कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुईटेलले जानकारी दिनुभयो । राजदूत सङ केही दिनदेखि कोशी प्रदेशको भ्रमणमा हुनुहुन्छ। यस क्रममा उहाँले इलाम लगायत प्रदेशका विभिन्न जिल्लामा चीन सरकारको सहयोगमा सञ्चालित आयोजना तथा कार्यक्रमहरूको निरीक्षण गर्नुभएको छ। यो भेटवार्ताले प्रदेश र चीनबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै आर्थिक सहकार्यका नयाँ ढोकाहरू खोल्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।