search logo
NOTIFICATIONS

अमेरिकाको लस एन्जलसमा कर्फ्यू हट्यो, ३३० जना आप्रवासी पक्राउ

हाम्रो पेज

२९ जेष्ठ २०८२, बिहीबार १४:३५
विराटनगर, २९ जेठ I पाँच दिनको तनावपूर्ण प्रदर्शन र अशान्तिपछि अमेरिकाको लस एन्जलसमा बुधबारदेखि कर्फ्यू हटाइएको छ, जससँगै शहरमा क्रमशः शान्ति फर्कन थालेको छ।

यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्धको प्रदर्शन अमेरिकाका अन्य शहरहरूमा फैलने क्रममा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। लस एन्जलसकी मेयर करेन बासले बुधबार आयोजित पत्रकार सम्मेलनमा हालैको अशान्तिको सम्पूर्ण दोष राष्ट्रपति ट्रम्पको आप्रवासन छापामारीलाई दिनु भएको छ । उहाँले ट्रम्प प्रशासनले शहरमा “डर” र “आतंक”को वातावरण सिर्जना गरी बासिन्दाहरूलाई “उत्तेजित” पारेको गम्भीर आरोप लगाउनु भयो । मेयर बासले भन्नुभयो, “एक हप्ताअघि यहाँ सबै शान्तिपूर्ण थियो, तर शुक्रबारदेखि छापामारी सुरु भएपछि परिस्थिति जटिल बन्न पुग्यो।” उहाँले यसअघि नै प्रशासनलाई यस्ता छापामारी रोक्न आह्वान गरेको पनि स्मरण गराउनुभयो । प्रदर्शनका क्रममा भएको अशान्तिपछि प्रहरीले कारबाहीलाई तीव्र बनाएको छ। लस एन्जलस प्रहरीका अनुसार पाँच दिनको प्रदर्शनपछि मंगलबार रातिदेखि व्यापक धरपकड गरिएको थियो। हालसम्म करिब चारसय जनालाई पक्राउ गरिएको छ, जसमध्ये तीनसय ३० जना गैरकानुनी आप्रवासी रहेको बताइएको छ।

यसैगरी, एकसय ५७ जनालाई आक्रमण र प्रहरीको काममा अवरोध पुर्‍याएको आरोपमा पक्राउ गरिएको छ, जसमा एक प्रहरी अधिकारीको हत्या प्रयासजस्तो गम्भीर अभियोग पनि समावेश छ। शहरको स्थितिलाई नियन्त्रणमा लिन कुल चारहजार नेसनल गार्ड सैनिक र सातसय मरिनहरू तैनाथ गरिएको थियो । लस एन्जलसमा स्थिति सामान्य बन्दै गए पनि यो मुद्दा राष्ट्रिय स्तरमा चर्किंदै गएको छ। बीबीसीका अनुसार अमेरिकाका अन्य प्रमुख शहरहरूमा पनि ट्रम्प प्रशासनको नीतिको विरुद्धमा थप प्रदर्शनहरूको तयारी भइरहेको छ, जसले यो विवाद अझै साम्य नहुने संकेत गरेको छ ।