मोरङ कारागारमा ७० वर्षीय कैदीको उपचारका क्रममा मृत्यु

हाम्रो पेज

७ असार २०८३, आईतवार ११:५८
साढे सात वर्ष सजाय भुक्तानपछि मोरङ कारागारका कैदीको मृत्यु

विराटनगर, ७ असार । मोरङ जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक वृद्ध कैदीको उपचारका क्रममा मृत्यु भएको छ। स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि अस्पताल भर्ना गरिएका ७० वर्षीय रामप्रसाद दाहालको आइतबार बिहान निधन भएको कारागार प्रशासनले जनाएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–६ निवासी दाहाल जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई १६ वर्षको कैद सजाय भुक्तान गरिरहेका थिए। उनी २०७५ सालदेखि मोरङ कारागारमा रहेका थिए। कारागार प्रशासनका अनुसार शनिबार उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि कोशी अस्पताल लगिएको थियो। चक्कर लाग्ने तथा श्वासप्रश्वासमा कठिनाइ भएपछि अस्पताल भर्ना गरिएका दाहालको उपचारका क्रममा स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको र आइतबार बिहान करिब २ बजे निधन भएको हो।
दाहाल बिरामी परेलगत्तै उनका परिवारजन तथा आफन्तलाई जानकारी गराइएको कारागार प्रशासनले जनाएको छ।

अस्पतालमा उपचार भइरहेका बेला परिवारका सदस्यहरू उपस्थित रहेका थिए र उनीहरूको उपस्थितिमै दाहालको मृत्यु भएको बताइएको छ। अदालतको फैसलाअनुसार दाहालले २०९१ साल पुससम्म कैद सजाय भुक्तान गर्नुपर्ने थियो। तर सजाय अवधि समाप्त हुन अझै करिब डेढ दशक बाँकी रहँदै उनको मृत्यु भएको हो। कारागार स्रोतका अनुसार उनले हालसम्म करिब साढे सात वर्ष कैद जीवन बिताइसकेका थिए। हाल उनको शव कोशी अस्पतालमा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाउने तयारी भइरहेको कारागार प्रशासनले जनाएको छ।मोरङ जिल्ला कारागारमा हाल १ हजार २ सय ८ जना कैदीबन्दी रहेका छन्। तीमध्ये १ सय १० महिला, १ हजार ९७ पुरुष तथा एक आश्रित बालिका रहेका छन्।