हाम्रो पेज
काठमाडौं, १५ जेठ I सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आज संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२, ८३ का लागि उक्त आकारको बजेट सार्वजनिक गर्नुभएको हो।
यो चालु आ.व.को तुलनामा ५ दशमलव ५८ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा १८ दशलमव २ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो । सरकारले चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६० दशमलव १ प्रतिशत हो । पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन भएको छ । यो कुल बजेटको २० दशलमव ८ प्रतिशत हो । वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन भएको छ । यो कुल बजेटको १९ दशमलव १ प्रतिशत हो । आगामी आर्थिक वर्ष सरकारले प्रदेश र स्थानीय तहमा ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ हस्तान्तरण गर्दैछ । चालु आर्थिक वर्षमा ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण भएको थियो । खर्च बेहोर्ने स्रोततर्फ आगामी वर्ष राजस्वबाट सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । यस वर्ष राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड संकलनको लक्ष्य राखेको थियो । आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब संकलन गर्ने लक्ष्य रहेको छ । वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड जुटाउने अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो । निजी क्षेत्रले बजेटलाई सन्तुलित भनेको छ भने विपक्षी दलहरुले शिथिल अर्थतन्त्रलाई उकास्ने कुनैपनि योजना नदेखिएको बताएका छन् ।

बजेटमा भएका मुख्य–मुख्य विशेषताहरु:
-कर्मचारीहरुको तलब बढेन, महंगी भत्ता पाँचहजार पुर्याइयो
-अब बृद्ध भत्ता लिन ७० वर्ष उमेर पूरा हुनुपर्ने
-कोशी, गण्डकी लगायतका नदीबाट कलकत्तासम्म पानीजहाज सञ्चालनका लागि अध्ययन गरिने
-पोखरा एयरपोर्ट पर्यटकीय हब, आँबुखैरेनी–पोखरा सडक सक्ने
-रिसोर्ट बनाउन वनको जग्गा लिजमा
-अब सबै प्रदेशमा उपभोक्ता अदालत
-नेपालमा उत्पादित सामग्रीको गुणस्तर परीक्षण
-टिमुरेमा भन्सार जाँच चौकी
-राज्य सुविधा परिचय पत्र घोषणा गरिने
-हदबन्दीले बिक्री रोकिएका जग्गा हाउजिङलाई
-कृषिमा उत्पादकत्व बढाउन यान्त्रीकरण गरिने
-स्टार्टअपलाई सहुलीयतपूर्ण कर्जा, ७३ करोड
-अब अनलाइन प्रणालीबाटै जग्गा रोक्का र फुकुवा
-सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरिने
-कृषि पशुपन्छी बिमाका लागि २ अर्ब ३० करोड विनियोजन
-बाली लगाउने समयभन्दा १५ दिनअघि नै समर्थन मूल्य तोकिने
-हरेक स्थानीय तहमा भूमि बैंक स्थापना गरिने
-सरकारले ५ लाख सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने
-सार्वजनिक संस्थानको नाफा १२ दशलमव ८८ प्रतिशतले घट्यो, १५ वटा घाटामा
-चालू आ.व.को बजेट ८९ प्रतिशत मात्रै खर्च हुने, राजस्व १७ प्रतिशतले बढ्ने
-सेजमा उद्योगीलाई तान्न सरकारले बजेटमा ल्यायो ३ वर्षको भाडा छुट योजना
-सहकारी ठगको सम्पत्ति र राहादानी रोक्का राखिने
-निजी क्षेत्रलाई समृद्धिको प्रमुख संवाहक बनाइने, देशलाई ग्रे लिस्टबाट बाहिर निकालिने
-नेपालीले विदेशमा लगानी गर्न पाउने, लगानी बोर्डले स्वीकृति दिने
-दुई वर्षमा धान उत्पादनमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य
-साढे ८ लाख पशुमा कृत्रिम गर्भाधान गराइने
-वर्षौपछि विदेशमा लगानी गर्न पाउने बाटो खुला
-विश्वविद्यालयसँग मिलेर शिक्षक बैंक स्थापना गरिने
-डाटा सेन्टर खोल्न चाहने स्वदेशी तथा विदेशी कम्पनीलाई जग्गा दिइने
-कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने
-एआई सेन्टर स्थापना गरिने
-उर्जा मन्त्रालयलाई ८६ अर्ब १ करोड बजेट
-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई चार अर्ब २८ करोड बजेट
-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि ९५ अर्ब ८१ करोड विनियोजन
-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई दुई अर्ब ८ करोड, बालउद्यान बनाइने
-कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड विनियोजन
-भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको बजेट ७ अर्ब ४९ करोड
-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड विनियोजन
-वन तथा वातावरण मन्त्रालयका निम्ति १८ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन
-उद्योग, वाणिज्य मन्त्रालयलाई १० अर्ब बजेट
-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई १३ अर्ब बजेट
-आन्तरिक विमानस्थल पूर्वाधार विकासका लागि ५० करोड रुपैयाँ विनियोजन
-नीजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाइने
-स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब विनियोजन
-प्रदूषण कम गर्न काठमाडौंका उद्योग उपत्यकाबाहिर सारिने
-राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रममा एक अर्ब ९९ करोड विनियोजन
-औद्योगिक पूर्वाधार निर्माणका लागि एक अर्ब ५५ करोड विनियोजन
-नेपालको सार्वजनिक ऋण २६ खर्ब ७६ अर्बभन्दा बढी
-सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब नौ अर्ब विनियोजन
-काठमाडौंमा सूचना प्रविधि पार्क बनाइने, फिल्मका लागि इनडोर,आउटडोर छायांकन स्टुडियो
-आन्तरिक विमानस्थलको पूर्वाधारमा ५० करोड, पर्यटन मन्त्रालयका लागि १३ अर्ब २८
-हदबन्दीका कारण बिक्री हुन नसकेका हाउजिङ तथा अपार्टमेन्ट बेच्न पाइने
-विद्यालय दिवा खाजाको रकम बढ्यो
-प्रदेश र स्थानीय तहलाई पाँच खर्ब ८२ अर्ब विनियोजन
-सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब नौ अर्ब विनियोजन
-१६ वर्षमाथिका युवालाई राष्ट्रिय स्वयंसेवक परिचयपत्र
-महिलाको नाममा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने व्यवस्था गरिने
-मुसहर, डोम र चमार समुदायलाई चिकित्सा शिक्षामा छात्रवृत्ति, २ अर्ब ४४ करोड विनियोजन
-एक सय विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम, प्रतिविद्यालय २५ लाख अनुदान
-पोखरा र भैरहवा विमानस्थलमा उडान गर्ने विमान कम्पनीलाई सुविधा दिइने
-सरकारले फेरि ल्यायो क्रसरजन्य निर्यातको योजना, ढुंगा, गिट्टी र बालुवा भारत पठाइने
-त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिमा ४० करोड
-शीतलनिवासको पुनर्निर्माण गरिने
-मोफसलका चार क्रिकेट रंगशाला बनाउन ४२ करोड विनियोजन
-कलंकी–बसुन्धरा–धोबिखोला सडक स्तरोन्नती गर्न एक अर्ब २४ करोड बजेट
-भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल बनाइने
-तीन हिमाली जिल्लामा हाई अल्टिच्युड रंगशाला बन्ने
-सब बेस, सुरुङ र पुल निर्माणका निम्ति २४ अर्ब ४९ करोड
-झापाको दमकमा सबै खेल आयोजना गर्न सकिने आधुनिक रंगशाला बनाइने
-साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न पूर्वाधार निर्माण
-हेटौंडा–काठमाडौं रोप वेको विकल्पमा पोड वे अघि बढाइने
-१० औं राष्ट्रिय खेलकुद आयोजना गर्न ५४ करोड बजेट विनियोजन
-विदेशी कम्पनीलाई विशिष्ट प्रकृतिको सेवा उपलब्ध गराएबापत नेपालीले ‘स्वेट’सेयर लिन पाउने
-जग्गा सरकारको हुने गरी सार्वजनिक संस्थानको निजीकरण गरिने
-घाइते, अपांग र अशक्तको निःशुल्क उपचार
-भैरहवा र पोखरा विमानस्थलबाट निश्चित संख्यामा उडान सञ्चालन गर्न सहुलियत
-द्रुतमार्गलाई २४ अर्ब ४९ करोड बजेट
-अब केन्द्रले कर लिएपछि प्रदेश वा स्थानीय तहले लिन नपाउने
-आगामी वर्ष थप ८९४ मेगावाट विद्युत् उत्पादन हुने
-सरकारले साझा यातायातलाई थप १०० विद्युतीय बस दिने
-रोबटिक प्रविधिबाट स्वास्थ्य सेवा दिइने
-कोशी, गण्डकी लगायतका नदीबाट कलकत्तासम्म पानीजहाज सञ्चालनका लागि अध्ययन गरिने
-ईभीको कर यथावत
-अन्तर्राष्ट्रिय पदक विजेता तथा विजेताका छोराछोरीलाई छात्रवृति दिइने
-महिला लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने, उत्कृष्ट महिला खेलाडीलाई पुरस्कार
-प्रत्येक प्रदेशका कम्तीमा तीन विद्यालयमा स्पोर्टस् एकेडेमी सञ्चालन हुने