प्रतिनिधिसभाको पहिलो बैठकमा ३ अध्यादेश पेश हुँदै, यस्ता छन् सम्भावित कार्यसूची

हाम्रो पेज

१८ चैत्र २०८२, बुधबार १९:२२

काठमाडौं, १८ चैत । प्रतिनिधिसभाको पहिलो बैठक भोलि दिउँसो २ बजेका लागि आह्वान भएको छ । संसद सचिवालयले पहिलो बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।बैठकको सुरुमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा सुनाउने कार्यसूची छ । यस्तै राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र सुनाइने ।यस्तै बैठकमा तीन वटा अध्यादेश पनि पेश हुनेछन् । मतदाता नामावली पहिलो संशोधन अध्यादेश २०८२, प्रतिनिधिसभा सभा सदस्य निर्वाचन ९पहिलो संशोधन० अध्यादेश २०८२ र नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश २०८२ पेश गर्ने कार्यसूची रहेको छ । यस्तै दलीय आधारमा सदस्यहरूले आ आफ्नो मन्तव्य राख्ने सूची पनि छ । भने, सभामुख पदको निर्वाचनका लागि मिति तोक्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख छ ।फागुन २१ गतेको निर्वाचनबाट चयन भएको प्रतिनिधि सभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमति जुटेको छ। बुधबार कांग्रेस सांसद अर्जुननरसिंह केसीको संयोजकत्वमा सिंहदरबारमा बसेको बैठकले शीर्ष नेताहरूबाट सम्बोधन हुने सहमति जुटाएको हो।  यसरी सम्बोधन गर्ने शीर्ष नेतामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछानेले बोल्नुहुनेछ । उता नेकपा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा बादलले सम्बोधन गर्ने तालिका तय भएको छ। नेपाली कांग्रेसले कसलाई बोल्न दिन्छ भन्ने अहिलेसम्म टुङ्ग्याएको छैन। कांग्रेसले अझै पनि संसदीय दलको नेता पनि चयन गर्न सकेको छैन । सभापति गगन थापासहित अधिकांश पराजित भएको अवस्थामा दलको नेता चयन हुन बाँकी छ । कांग्रेसमा अहिले शेरबहादुर देउवा पक्ष र संस्थापन गगन थापा पक्षबीच किचलो देखिएको छ। केही सांसदहरू देउवा पक्षमा पनि देखिँदा झमेला हुने सम्भावना छ। यता श्रम संस्कृति पार्टीबाट अध्यक्ष हर्क साम्पाङले सम्बोधन गर्नुहुने छ । नेकपाबाट संसदीय दलको नेतामा चयन हुनु भएका पुष्पकमल दाहाल प्रचण्ड बोल्नुहुनेछ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सम्बोधन गर्ने तालिका तय भइसकेको छ ।