
काठमाडौं, १९ कार्तिक । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु भएको छ । पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र को नेतृत्वमा एकीकृत भएका १० वटा कम्युनिस्ट पार्टीहरूको बुधवार काठमाडौँमा सो सम्मेलन सुरु भएको हो । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता भएको छ । गोपाल किराँती भने माओवादीसँगै मिसिएर एकतामा सहभागी हुनु भएको छ । सभाले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी घोषणा गर्ने छ। चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ ।मूल पार्टी एकतामा जाँदा केही नेताहरू भने अलग्गिएका छन् । माओवादीबाट जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरू बाहिरिएका छन् । माओवादीसँगको एकताप्रति असन्तुष्ट जनाउँदै आएका एकीकृत समाजवादीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अन्तिम समयमा आएर सम्मेलनमा सहभागी हुनु भएकोछ ।


तर, नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल, रामकुमारी झाँक्रीलगायतका नेताहरू भने माओवादीसँगको एकता प्रक्रियाबाट बाहिरिनु भएको छ । सम्मेलनमा पार्टीका शीर्ष नेताहरू दाहाल, माधवकुमार नेपालसहित सबै घटकका नेताहरूले संयुक्त रूपमा रिमोर्ट थिचेर सम्मेलनको औपचारिक सुरुवात गर्नुभएको छ । सम्मेलनमा पार्टीको विधान, केन्द्रीय कमिटी तय गर्ने र निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णय लिने एजेन्डा तय गरिएको छ ।