
विराटनगर, ७ आश्विन । मोरङको रानी नाकाबाट स्रोत नखुलेको १४ लाख ५० हजार रुपैयाँ नगदसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति हुण्डी कारोबारी भएको आशंकामा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुडालका अनुसार, सोमबार दिउँसो नियमित चेकजाँचका क्रममा विराटनगर महानगरपालिका १८ बस्ने ४१ वर्षीय वीरेन्द्र साहलाई पक्राउ गरिएको हो। साह सवार को ३८ प ५८५१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लुकाएर राखेको अवस्थामा उक्त नगद बरामद भएको थियो। प्रारम्भिक सोधपुछमा साहले रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएको हो। प्रहरीले साहलाई हुण्डी कारोबारमा संलग्न भएको आशंका गरेको छ र यस सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट विस्तृत अनुसन्धान सुरु गरिएको छ। बरामद भएको नगद र पक्राउ परेका साहलाई आवश्यक कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।