search logo
NOTIFICATIONS

बंगालको खाडीमा मोन्था, नेपालमा हिमपात र वर्षा

हाम्रो पेज

११ कार्तिक २०८२, मंगलवार १३:०९
काठमाडौं, ११ कार्तिक । मौसमविद्ले बंगालको खाडीमा सक्रिय मोन्था चक्रवातका कारण मधेस र वाग्मती प्रदेशमा बिहीबारदेखि वर्षाको सम्भावना रहेको बताएका छन् । पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्यायले बिहीबार साँझदेखि पर्सा, बारा, रौतहट, सर्लाहीसहित वाग्मतीमा धेरै वर्षाको सम्भावना रहेको बताएका छन् । गण्डकीमा समेत मध्यमदेखि भारी वर्षा हुनेछ । पर्सिदेखि सुनसरीसम्मको तराई क्षेत्र र ठ्याक्कै यसको उत्तरी क्षेत्रमा रहेका पहाडी र हिमाली क्षेत्रमा पनि भारी वर्षा र हिमपात देखिन्छ,मंगलबार सामाजिक सञ्जालमा उपाध्यायले लेख्नु भएको छ । उहाँले रोल्वालिङ, सगरमाथा, मकालु–बरुण क्षेत्रमा शुक्रबारसम्म पदयात्रा नगर्न पनि सुझाव दिनुभएको छ। बिहीबार साँझदेखि शुक्रबार मध्याह्नसम्म माथि उल्लेखित जिल्लासहित इलाम–धनकुटा–सङ्खुवासभा–सोलुखुम्बु–तेह्रथुम–पाँचथर–खोटाङ–झापा उच्च जोखिममा देखिन्छन्, उहाँले भन्नुभएको छ । उपाध्यायले बिहीबार मध्याह्नदेखि शुक्रबार मध्याह्नसम्म बीपी राजमार्ग र पृथ्वी राजमार्ग तथा काठमाडौं–हेटौँडा जोड्ने कुनै पनि सडकमा यात्रा नगर्न सुझाव दिनु भएको छ । शनिबारदेखि पुनः मौसम घमाइलो र रमाइलो हुनेछ ।
उहाँका अनुसार, पश्चिममा अरबसागर र पूर्वमा अण्डमानसागर दुवैतर्फ समुद्री आँधी सक्रिय छ । अरबसागरतर्फको चक्रवातले आज कर्णाली, गण्डकीको धेरै क्षेत्रमा भारी वर्षा र हिमपात भइरहेको छ । मुगु, डोल्पा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङलगायत अन्य हिमाली क्षेत्रमा भारी हिमपात भइरहेको छ । काठमाडौंलगायत तराई र पूर्वी क्षेत्रमा पनि यसको प्रभाव कायम । तर, आज रातिसम्म यसको प्रभाव घट्ने र भोलि बुधबार मौसममा सुधार आउने । काठमाडौं लगायतका धेरै भूभागमा भोलि बुधबार वर्षा नहुने र केहीबेर घाम लाग्नाले न्यानो अनुभूति हुने । बिहीबार बिहान पनि मौसम खुलै रहनेछ। बंगालको खाडीमा सक्रिय चक्रवात ‘मोन्था’ मंगलबारसम्म अझ शक्तिशाली हुने अनुमान गरिएको छ । त्यसपछि यो गम्भीर चक्रवाती तुफानमा परिणत हुने अनुमान गरिएको भारत मौसम विभागले जनाएको छ । मोन्था चक्रवातको प्रभाव आन्ध्र प्रदेश, तमिलनाडु, पश्चिम बंगाल र ओडिसाका तटीय जिल्लामा देखिन थालेको छ । हाल यो मछलीपट्टनमबाट करिब १९० किलोमिटर दक्षिण–पूर्वमा केन्द्रित भएको जनाइएको छ ।यी राज्यमा ९० देखि ११० किलोमिटर प्रतिघण्टाको वेगमा हावा चलिरहेको छ । मौसम विभागले चक्रवात ‘ल्यान्डफल’का समयमा समुद्रमा करिब पाँच मिटर अग्ला छालहरू उठ्न सक्ने चेतावनी दिएको छ । चारै राज्यका तटीय इलाकाबाट ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । ५५ भन्दा बढी रेल सेवा रद्द गरिएको छ ।मौसम विभागका अनुसार, चक्रवात काकीनाडा–मछलीपट्टनम तटनजिक पुग्दै गर्दा यसको तीव्रता अझ बढ्नेछ । भारतको मौसम विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चक्रवाती तुफान साँझ वा राति आन्ध्र प्रदेशमा काकिनाडानजिक मछलीपट्टनम र कलिंगपट्टनमबीचको तट पार गर्न सक्छ ।”विभागका अनुसार, तुफानको प्रभावले केरल, कर्नाटक, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, राजस्थान र झारखण्डमा अबका तीन दिनसम्म वर्षा गराउन सक्छ ।‘मोन्था’ नाम थाइल्यान्डले दिएको हो । थाई भाषामा यसको अर्थ ‘सुगन्धित फूल’ हुन्छ । मंगलबार बिहानैदेखि आन्ध्र प्रदेश, तमिलनाडु, पश्चिम बंगाल र ओडिसाका तटीय जिल्लामा वर्षा र ९० देखि ११० किलोमिटर प्रतिघण्टाको वेगमा हावा चलिरहेको छ ।

यसका कारण यी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आन्ध्र प्रदेश र ओडिसाका केही भागका निम्ति विशेष चक्रवात चेतावनी जारी गरिएको छ । भारतीय मौसम विभागले सोमबार जारी गरेको अद्यावधिक सूचनामा उल्लेख छ, “चक्रवात मोन्थाको प्रभावले महाराष्ट्रको विदर्भ क्षेत्रमा अक्टोबर २८ देखि ३० सम्म मध्यमदेखि भारी वर्षा हुनसक्छ ।” गएरातिबाट मुक्तिनाथ लगायत उपल्लो मुस्ताङ क्षेत्रमा हिमपात भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कार्तिक १० गते रातको समयबाट वर्षात संगसगै मुक्तिनाथ लगायत उपल्लो मुस्ताङ घमीबाट माथिका क्षेत्रहरुमा हिमपात भएको हो । प्रहरीले उक्त उक्त क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह पनि गरेको छ । यस्तै अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक लगाइएको छ ।सो क्षेत्रमा वर्षा र हिमपात भैरहेकाले पदयात्रामा रोक लगाइएको हो ।
सो स्थानमा केही पदयात्रीहरु तल झर्न र माथि उक्लिन सकिरहेका छैनन् । उनीहरुलाई सहजीकरण गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मी इन्द्र शेरचन थकाली सहितको टोली खटिएको छ । सो टोली अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी परिचालित भएको हो ।