रवि र बालेनबीच मध्यरातसम्म भेटवार्ता, मिलेरै अघि बढ्ने सहमति

हाम्रो पेज

८ पुष २०८२, मंगलवार ११:२४

काठमाडौं,७ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच मिलेरै अघि बढ्नेबारेमा छलफल भएको छ । सोमबारराति अबेरसम्म रास्वपाका पूर्वसांसद असिम शाहको कार्यालयमा करिब साढे ५ घण्टा दुई जनाबीच कुराकानी भएको थियो । राति अबेरसम्मै दुवै जनाबीच कुराकानी भएको थियो । अशिम शाहले भेटपछि राति पत्रकारहरुसँग कुरा गर्दै मिलेर अघि बढ्ने बारेमा छलफल भएको बताउनु भएको छ । “सौहार्दपूर्ण वातावरणमा भएको छ । देशलाई प्राथमिकतामा राखेर मिलेर जानुपर्छ भन्ने नै हो । प्रधानमन्त्रीको प्रस्तावमा कुरा भएको होइन,” उहाँले भन्नुभयो, “दाजुभाइ एकठाउँमा बसेर कुरा भएको हो । यो तहमा कहिल्यै बस्न पाएका थिएनन् । अब मिलेरै अघि बढ्ने भन्ने कुरा हो ।” रास्वपा सभापति रवि लामिछानेले राजनीतिक भेटवार्तालाई तीव्र बनाउनु भएको छ । नख्खु कारागारबाट निस्किएलगत्तै उहाँले विभिन्न राजनीतिक भेटवार्ता र पार्टी गतिविधि बाक्लो बनाउनु भएकोछ । गत शुक्रबार उच्च अदालत बुटवलबाट निस्किएका लामिछाने चितवन हुँदै काठमाडौं पुग्नु भएको थियो । शनिबार दिउँसो काठमाडौं आएलगत्तै जेनजी घाइते र शहीद परिवारसँग भेटवार्ता र आइतबार पार्टी कार्यालयमा स्वागत, बैठकपछि उहाँले प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारी टोलीसँग छलफल गर्नुभएको छ । बालेनसँगको गहन छलफलपछि वैकल्पिक शक्तिको पक्षमा रहेकाहरु उत्साहित भएका छन् । उता बालेन र रवि एकै गाडीमा बाहिरिएपछिको तस्विरले भने राजनीतिमा नयाँ तरङ निम्त्याएको छ ।