हाम्रो पेज
एजेन्सी, ८ अषाढ I मध्यपूर्वलाई एक विनाशकारी युद्धको संघारमा पुऱ्याउँदै, संयुक्त राज्य अमेरिकाले इरानका तीन प्रमुख आणविक केन्द्रहरूमा भीषण सैन्य हमला गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो हमला सफल भएको घोषणा गर्दै आफ्ना सबै विमानहरू सुरक्षित फर्किसकेको बताउनु भएको छ।
इरानी अधिकारीहरूले पनि आफ्ना आणविक केन्द्रहरूमा आक्रमण भएको पुष्टि गरेका छन्, जसले विश्वभर तरंग पैदा गरेको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत इरानका फोर्डो, नटान्ज र इस्फहान स्थित आणविक केन्द्रहरूमा सफल आक्रमण सम्पन्न भएको घोषणा गर्नभएको छ । उहाँले लेख्नु भएको छ, “हामीले इरानका तीन आणविक स्थलमा हाम्रो धेरै सफल आक्रमण सम्पन्न गरेका छौं। मुख्य स्थल फोर्डोमा पूर्ण मात्रामा बमहरू खसालिएको छ। सबै विमानहरू सुरक्षित रूपमा घर फर्किंदै छन्। हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई। विश्वमा यो गर्न सक्ने अर्को कुनै सैन्य शक्ति छैन। अब शान्तिको समय हो।”
ट्रम्पले यो आक्रमणको उद्देश्य इरानलाई वार्ताको टेबलमा फर्काउन दबाब दिनु रहेको र थप अमेरिकी कारबाही गर्ने योजना नरहेको बताउनुभएको छ । इरानी मिडियाले आफ्ना अधिकारीहरूलाई उद्धृत गर्दै इस्फहान, नटान्ज र फोर्डो आणविक केन्द्रमाथि आक्रमण भएको पुष्टि गरेको छ। इस्फहानका उपगभर्नरले आणविक स्थल नजिकै आक्रमण देखिएको बताउनु भएको छ । इरानको सरकारी मिडियाका एक अधिकारीले भने यी तीनै आणविक स्थलहरूलाई आक्रमण हुनु केही समयअघि नै खाली गराइएको दाबी गर्नुभएको बीबीसीले उल्लेख गरेको छ । उहाँले भन्नु भएको छ, “ट्रम्पले भनेको सत्य भए पनि इरानले ठूलो क्षति भोग्नु परेको छैन, किनभने त्यहाँका सामग्री पहिल्यै बाहिर निकालिएको थियो।” कुम प्रान्तका अधिकारीहरूले पनि फोर्डो आणविक केन्द्रमाथिको हमलापछि हवाई रक्षा प्रणाली सक्रिय भएको बताउनु भएको छ ।
आक्रमणमा बी २ बमवर्षक विमानको प्रयोग
विभिन्न स्रोतहरूले सीएनएनलाई बताएअनुसार, अमेरिकाले यी आक्रमणहरूमा बी २ ‘स्टेल्थ’ बमवर्षक विमान प्रयोग गरेको थियो। पहाडको गहिराइमा बनाइएको फोर्डोजस्तो अति सुरक्षित आणविक केन्द्रलाई ध्वस्त पार्न यस्तै शक्तिशाली विमान र ‘बंकर बस्टर’ बम आवश्यक पर्छ। इजरायलका पूर्वरक्षामन्त्री योआभ गालान्टले अमेरिकाको यो कदमलाई ‘साहसिक’ भन्दै यसले विश्वलाई नै सुरक्षित बनाएको प्रतिक्रिया दिएका छन्।
यसैबीच, इरान र इजरायलबीचको द्वन्द्वमा मानवीय क्षति बढ्दो छ। इरानका अनुसार, इजरायली आक्रमणमा मृत्यु हुने सर्वसाधारणको संख्या ४३० पुगेको छ र ३,०५६ जना घाइते भएका छन्। अर्कोतर्फ, इरानको जवाफी हमलामा इजरायलमा कम्तिमा २५ जनाको मृत्यु भएको र २,५०० भन्दा बढी घाइते भएको इजरायली अधिकारीहरूले जनाएका छन्। यो आक्रमणले मध्यपूर्वमा एक अनियन्त्रित र विनाशकारी युद्धको ढोका खोलेको छ, जसको असर विश्वव्यापी शान्ति र स्थिरतामा पर्ने विश्लेषण गरिएको छ ।