भदौ १८ देखि निजी विद्यालय बन्दको चेतावनी, विद्यालय शिक्षा विधेयक सच्याउन माग

हाम्रो पेज

१२ भाद्र २०८२, बिहीबार १७:४६

काठमाडौं १२ भाद्र । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले विद्यालय शिक्षा विधेयकका केही प्रावधान सच्याउन माग गर्दै निरन्तर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। यदि आफ्ना मागहरूको सुनुवाइ नभएमा भदौ १८ गतेदेखि अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने चेतावनी उनीहरूले दिएका छन्। निजी विद्यालय सञ्चालकहरूले विधेयकबाट गैरनाफामूलक प्रावधान र पूर्ण छात्रवृत्ति सम्बन्धी व्यवस्था हटाउनु पर्ने मुख्य माग राखेका छन्। निजी विद्यालय सञ्चालकहरूले आफ्ना माग सम्बोधन नभएका खण्डमा थप सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्।
आन्दोलनका दोस्रो चरणका कार्यक्रमहरूः
भदौ १४ र १५ गतेः आगामी कार्यक्रमहरूको व्यापक तयारीका लागि आ आफ्ना संस्थाहरूले बैठकहरू आयोजना गर्ने।
भदौ १६ गतेः बिहान ११ बजे देशभरका स्कूल बसहरूमा कालो झण्डारब्यानर सहित विद्यालयको पायक पर्ने चोकबाट नगर परिक्रमा गरिनेछ। काठमाडौं उपत्यकामा २७ किलोमिटर चक्रपथ वरिपरि र जिल्लाहरूमा प्रतिघण्टा २० किलोमिटरको गतिमा भव्य र्‍याली निकालिनेछ। उक्त र्‍यालीमा सबै संगठनका केन्द्रीय, प्रदेश, जिल्ला र पालिकाका पदाधिकारी, सदस्यहरू तथा सम्पूर्ण विद्यालय सञ्चालक र प्रिन्सिपलहरूको अनिवार्य उपस्थिति रहनेछ।
भदौ १७ गतेः आगामी कार्यक्रमहरूको तयारी तथा समीक्षाका लागि आआफ्ना संस्थाहरूले बैठकहरू गर्नेछन्।
भदौ १८ गतेः बिहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूका सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत खबरदारी सभा गरिनेछ। उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई र्‍याली सहित कोण सभामा परिणत हुने कार्यक्रम छ।

यदि भदौ १८ गतेसम्म पनि आफ्ना मागहरूको सकारात्मक सुनुवाइ नभएमा निजी विद्यालयहरूले अनिश्चितकालसम्मका लागि विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्। निजी विद्यालय सञ्चालकहरूले सरकारसँग आफ्ना मागहरूमाथि गम्भीरतापूर्वक विचार गरी विधेयकमा आवश्यक संशोधन गर्न आग्रह गरेका छन्। यदि मागहरू सम्बोधन नगरिएमा देशभरका हजारौं निजी विद्यालय बन्द हुन सक्ने र यसले लाखौं विद्यार्थीको पठनपाठनमा असर पर्ने देखिएकोछ ।