पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा रिहा गर्न आदेश

हाम्रो पेज

११ मंसिर २०८२, बिहीबार १६:०६

काठमाडौं, ११ मंसिर । भेपमा भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई धरौटीमा रिहा गर्न आदेश भएको छ। उच्च अदालत पाटनका न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। यसअघि जिल्ला अदालत काठमाडौँले उहाँलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। पूर्वसभामुख महरालाई अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले थुनामा पठाउने आदेश गरेको थियो। उच्च अदालतले उक्त आदेश बदर गर्दै धरौटी माग गर्ने आदेश दिएको हो। महरा विद्युतीय चुरोट भेप मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ पर्नुभएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उहाँलाई पक्राउ गरेको थियो। महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको हो। उहाँलाई यसअघि २०८० चैत ५ गते पनि कागज गराएको थियो। ०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोट भेपमा सुन ल्याएको पाइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा ल्याएको सुन भन्सारकै कर्मचारीले लगेका थिए। भन्सारले सुरुमा नियन्त्रणमा लिएपछि छुटाउनलाई चिनियाँसँग महरा बाबुछोराको मिलेमतो देखिएको प्रहरीको दाबी छ। यो प्रकरणमा भन्सारका कर्मचारीविरुद्ध त्यसअघि नै मुद्दा दर्ता भइसकेको छ। चिनियाँ तस्करसँग महरा र उनका छोरा राहुलको मिलेमतो देखिएको भए पनि प्रहरी र सरकारी वकिलले पहिलो चरणमा महरालाई प्रतिवादी नबनाई मुद्दा दर्ता गरेका थिए।