विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित, आगामी वर्षदेखि मिथेन ग्यासको व्यावसायिक उत्पादन गर्ने प्रधानमन्त्रीको घोषणा

हाम्रो पेज

१० असार २०८२, मंगलवार २१:३०
विराटनगर, १० अषाढ । बजेटको सबैभन्दा महत्त्वपूर्ण अंग मानिने ‘विनियोजन विधेयक, २०८२’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री श्री विष्णु पौडेलले प्रस्तुत गर्नुभएको विधेयक पारितका लागि राखिएको प्रस्तावलाई सदनले बहुमतले स्वीकृत गरेको हो।

सोही बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका लागि एक महत्त्वपूर्ण घोषणा गर्नुभएको छ। उहाँले दैलेखमा गरिएको मिथेन ग्यासको परीक्षण उत्पादन सफल भएको जानकारी दिँदै आगामी आर्थिक वर्षभित्रै यसको व्यावसायिक उत्पादन सुरु गरिने दृढता व्यक्त गर्नुभयो। यो घोषणाले मुलुकको ऊर्जा सुरक्षा र आत्मनिर्भरतामा नयाँ आशा जगाएको छ। विधेयक पारित हुनुअघि विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल भएको थियो, जहाँ सांसदहरूले उठाउनुभएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुभएको थियो।

यसै क्रममा, सांसदहरूले राखेका केही संशोधन प्रस्तावहरूलाई भने सदनले बहुमतले अस्वीकृत गरेको थियो। यद्यपि, ऊर्जा मन्त्रालयअन्तर्गतको ‘टेक एन्ड पे’ र ‘विलासिता कर’ सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने विषयमा अर्थमन्त्री श्री विष्णु पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलित रहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “हामीलाई तीव्र गतिमा र धेरै ठाउँमा विकास चाहिएको छ, तर हाम्रो स्रोत सीमित छ। यसकारण माग र आपूर्तिको असन्तुलनलाई आगामी दिनमा सम्बोधन गर्न विशेष ध्यान दिइनेछ।” उहाँले मुलुकको विकासका लागि लगानी अपरिहार्य रहेको बताउँदै निजी क्षेत्र तथा वैदेशिक लगानी भित्र्याउन लगानी बोर्डमार्फत प्रभावकारी काम गरिने जानकारी दिनुभयो। संसद् जनताको बलिदान र सपना साकार पार्ने पवित्र थलो भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले सदनमा लोकतन्त्र र राष्ट्रियतालाई कमजोर बनाउने खालका हल्काफुल्का टिप्पणी नगर्न सबैमा आग्रह गर्नुभयो। उहाँले दृढतापूर्वक भन्नुभयो, “म बरु ममाथि गरिएका व्यक्तिगत गाली र अपमान सहन सक्छु, तर सहिदको बलिदान, जनताको त्याग र विद्यमान व्यवस्थाप्रतिको अपमान कदापि सहन्न। संसद् जनताको बलिदानको धज्जी उडाउने थलो बन्न सक्दैन।” ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार दृढताका साथ अघि बढेको भन्दै उहाँले सबैलाई ढुक्क हुन आग्रह गर्नुभयो। सरकार जनअपेक्षाअनुसार विकास र सुशासनमार्फत देशलाई समुन्नतिको मार्गमा अघि बढाउन केन्द्रित रहेको स्पष्ट पार्दै उहाँले सरकारलाई अनावश्यक खेल खेल्ने फुर्सद नभएको बताउनुभयो।