रास्वपा र राप्रपाको नाराबाजीबीच ‘पेलेरै’ चल्यो संसद, सत्तापक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप

हाम्रो पेज

१ असार २०८२, आईतवार १४:२४
काठमाडौं, १ अषाढ I भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार पनि प्रतिनिधिसभामा अवरोध जारी राखेका छन्। नाराबाजी र वेल घेराउका बीच सभामुख देवराज घिमिरेले पेलेरै बैठक अघि बढाएपछि सत्तापक्ष र प्रतिपक्षबीच चर्को आरोप प्रत्यारोप चलेको छ, जसले संसद्को वातावरण थप तनावपूर्ण बनेको छ।
बैठकको सुरुमै आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपाको नैतिकतामाथि नै गम्भीर प्रश्न उठाउनुभयो । उहाँले विभिन्न ५ वटा मुद्दामा जेलमा रहेका रवि लामिछाने अझै पनि रास्वपाको सभापति र संसदीय दलको नेता रहेको भन्दै आपत्ति जनाउनुभयो ।
घिमिरेले भन्नुभयो “जो व्यक्ति जेलमा छन्, सांसदबाट निलम्बित भइसकेका छन्, उनैलाई सभापति र संसदीय दलको नेता बनाएर राख्ने पार्टीले अरूलाई नैतिकताको पाठ सिकाउन मिल्छ ? अरूसँग नैतिकता खोज्नुअघि रास्वपाले आफैंभित्रबाट उदाहरण प्रस्तुत गर्नुपर्छ।” उहाँको यो आक्रामक अभिव्यक्तिले रास्वपाका सांसदहरूलाई थप उत्तेजित बनाएको थियो।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सांसदहरूको विरोधका बीच संसद् बैठक चलाइएकोमा घोर आपत्ति जनाउनुभयो। उहाँले यसलाई संसदीय अभ्यासविपरीतको ‘दादागिरी को संज्ञा दिनुभयो । शाहीले भन्नुभयो , “संसद्मा आन्दोलन भइरहँदा यसरी बैठक चलाउनु उचित होइन। हामी सबै जनताबाटै जितेर आएका जनप्रतिनिधि हौं। भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने मागमा सबैले साथ दिनुपर्छ। यो दादागिरी बन्द होस्।”
बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब दुई घण्टा ढिलो गरी सुरु भएको थियो। बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले कांग्रेस प्रमुख सचेतक घिमिरेलाई बोल्न समय दिएपछि रास्वपाका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए। जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सुरु भएको संसद् अवरोधले राजनीतिक दलहरूबीचको दूरी झनै बढाएको छ। सत्तापक्ष र प्रतिपक्षबीचको यो टकरावले संसद्का महत्त्वपूर्ण कामकारबाही प्रभावित बन्दै गएका छन्।