search logo
NOTIFICATIONS

विराटनगरमा थ्रीस्टार होटलका परिकार सडकमा,असोज ६ गतेदेखि विराट सडक महोत्सव

हाम्रो पेज

१२ भाद्र २०८२, बिहीबार १६:२७

विराटनगर, १२ भाद्र । खानाका पारखीहरूका लागि खुसीको खबर आएको छ । मञ्जिना मूभिज क्रियसनको आयोजनामा आगामी असोज ६ गतेदेखि पाँचदिने विराट सडक महोत्सव हुने भएको छ। विगतका वर्षहरू झैँ यस वर्ष पनि महेन्द्र चोक–ट्राफिक चोक सडकखण्डमा आयोजना हुने यस महोत्सवमा थ्री स्टार होटलहरूमा पाइने स्वादिष्ट परिकारहरू सस्तो मूल्यमा सडकमा नै चाख्न पाइने भएको छ। मन्जिना मुभिजले आज पत्रकार सम्मेलन गर्दै महोत्सवका लागि स्टल बुकिङ खुला गरिएको जानकारी दिएको छ। पाँचौँ संस्करणका रुपमा आयोजना हुन लागेको यो महोत्सव विराटनगरको सांस्कृतिक र खानाको पहिचान बन्ने आयोजकको विश्वास छ। मञ्जिना मुभिजका अध्यक्ष जतिन ताम्राकारका अनुसार महोत्सवमा विभिन्न जातजातिका परम्परागत खानाका परिकारका साथै शहरका प्रतिष्ठित स्टार होटलहरूमा पाइने विशिष्ट व्यञ्जनहरू पनि उपलब्ध हुनेछन्। यसले अवलोकनकर्ताहरूलाई एकै ठाउँमा विभिन्न स्वादको अनुभव गर्ने अवसर प्रदान गर्नेछ। सस्तो मूल्यमा अवलोकनकर्ताहरूले विभिन्न जातिका परिकारहरूको स्वाद लिन पाउने ताम्राकारले बताउनुभयो। महोत्सव अवधिभर हरेक दिन अपरान्ह ५ बजेदेखि राति ९ बजेसम्म महेन्द्र चोक–ट्राफिक चोक सडकमा सवारी आवागमन निषेध गरिने आयोजकले जानकारी दिएको छ।

सडकमा महोत्सव लगाउँदा आसपासका व्यवसायीलाई असहज नहोस् भन्ने कुरामा विशेष सजगता अपनाइएको अध्यक्ष ताम्राकारले बताउनुभयो। करिब १२ लाख रुपैयाँ लागत अनुमान गरिएको यस महोत्सवमा प्रवेश शुल्क भने लाग्ने छैन। हरेक दिन स्थानीय कलाकारहरूका कलासहित सांस्कृतिक कार्यक्रम आयोजना हुनेछन् भने राष्ट्रिय कलाकार समेत ल्याउने तयारी भइरहेको सांस्कृतिक कार्यक्रमका संयोजक शुभम न्यौपानेले बताउनुभयो।  आयोजकले विराटनगर तथा भारतका छिमेकी शहरहरूबाट समेत ठूलो संख्यामा पाहुना आउने विश्वास व्यक्त गरेको छ। विगतका वर्षहरूमा दैनिक ९ हजार जनाभन्दा बढीले अवलोकन गरेको अनुभवका आधारमा यस वर्ष अझै धेरै अवलोकनकर्ता आउन सक्ने विश्वास ताम्राकारले व्यक्त गर्नुभयो। नेपालीहरको महान चाड बडादशैंको मुखमा विराट सडक महोत्सव विराटनगरका बासिन्दा र बाहिरी पाहुना दुवैका लागि खाना, संस्कृति र मनोरञ्जनको अद्भुत संगम बन्ने अपेक्षा गरिएको छ।