एयर इण्डियाको विमान दुर्घटनामा बाँच्न सफल यात्रुको बयानः होस खुल्दा वरिपरि शव मात्र थिए

हाम्रो पेज

३० जेष्ठ २०८२, शुक्रबार ०८:१९
एजेन्सी, ३० जेठ । भारतको अहमदाबादबाट लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ विमान दुर्घटनाग्रस्त हुँदा दुईसय ४१ जनाको मृत्यु भएको पुष्टि भयो । तर, ती विनाशकारी क्षणहरूबाट एकजना यात्रु चामत्कारिक रूपमा बाँच्न सफल भएका छन् ।
अहमदाबाद प्रहरी प्रमुख जीएस मलिकका अनुसार, दुर्घटनामा एकजना बेलायती नागरिक जीवित उद्धार भएका हुन् । उनी सिट नम्बर ११ ए मा बसेका थिए । पीडितको परिचय विश्वासकुमार रमेशका रूपमा खुलेको छ, जो लण्डनका लागि यात्रा गरिरहनु भएको थियो ।
दुर्घटनाको बेला विमानमा दुईसय ४२ जना सवार थिए । दुईसय ३२ यात्रु र १० जना चालक दलका सदस्यहरू । उडेको केही क्षणमै विमान दुर्घटनामा परेको थियो ।
अस्पतालको बेडमा सुतिरहेका रमेशले पत्रकारहरूसँग बोल्ने क्रममा आफ्नो बोर्डिङ पास देखाउँदै भन्नु भयो, “विमान उडेको करिब ३० सेकेन्डपछि एकदमै ठूलो आवाज आयो, त्यसपछि सबैथोक अन्धकारमा गयो । मलाई के भयो, केही थाहा भएन ।”
उहाँले थप भन्नु भयो, “जब म होसमा आएँ, मेरो वरिपरि शवहरू मात्र थिए । म धेरै डराएँ, जिउने आशा मरेको थियो । कसरी उठें, कसरी दौडिएँ, थाहा छैन । एकजना उद्धारकर्ताले मलाई समातेर एम्बुलेन्समा राखे ।”
विश्वाससँगै सोही उडानमा उनका भाइ अजयकुमार रमेश पनि हुनुहुन्थ्यो । उनी विमानको अर्को पंक्तिमा थिए । विश्वासले भावुक हुँदै भन्नु भयो, “ऊ मसँगै थियो, तर अहिले कहाँ छ, थाहा छैन । कृपया, उसलाई खोज्न म सहयोग चाहन्छु ।”
बीबीसीका संवाददाता नवतेज जोहलले बेलायतको लेस्टरस्थित रमेश परिवारसँग कुराकानी गर्नु भएको छ । विश्वासका काका अजय वाल्गीले जानकारी दिँदै भननुभयो, “विश्वासले फोन गरेर आफू सुरक्षित रहेको खबर दियो, विस्फोटको आवाज सुनिएको बताए । तर उसले अजयबारे केही बताउन सकेन ।”
अहिले सम्म दुर्घटनाको कारणबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । विमान टेक–अफपछि तुरुन्तै दुर्घटनाग्रस्त भएकोले प्राविधिक समस्या, पंक्षी ठोक्किनु वा अन्य सम्भावनाहरूको अनुसन्धान भइरहेको छ ।
विश्वास कुमार रमेशको बँचाइलाई धेरैले “चमत्कार” मानेका छन् ।