इरानमाथि इजरायली हमलासँगै कच्चा तेलको मूल्य १०प्रतिशत भन्दा बढीले बृद्धि

हाम्रो पेज

३० जेष्ठ २०८२, शुक्रबार १२:५२
एजेन्सी, ३० जेठ I इजरायलले इरानमाथि सैन्य हमला गरेको घोषणासँगै विश्वव्यापी तेल बजारमा भूकम्प गएको छ । मध्यपूर्वमा युद्धको कालो बादल मडारिँदा कच्चा तेलको मूल्यमा १० प्रतिशतभन्दा बढीको अचानक उछाल आएको छ, जसले विश्वव्यापी अर्थतन्त्रमा गम्भीर असर पर्ने त्रास सिर्जना गरेको छ।

हमलाको खबर सार्वजनिक हुनासाथ बेन्चमार्क आयल कन्ट्र्याक्ट, ब्रेन्ट क्रुड र निमेक्स लाइट स्विटको मूल्यमा १० प्रतिशतभन्दा बढीको वृद्धि भएको बीबीसीले जनाएको छ। तेल उत्पादक प्रमुख राष्ट्र इरानबाट हुने आपूर्तिमा अवरोध आउन सक्ने चिन्ताले व्यापारीहरू त्रसित बनेका छन्। इरान र इजरायलबीचको यो द्वन्द्वले होर्मुज जलडमरूमध्य जस्ता महत्त्वपूर्ण तेल आपूर्ति मार्गहरूमा समेत बाधा पुऱ्याउन सक्ने डर छ, जसले विश्वको तेल आपूर्ति श्रृंखलालाई नै अस्तव्यस्त बनाउन सक्छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः उकालो लागेको हो। हाल कच्चा तेलको मूल्य प्रतिब्यारेल ७४ डलर नजिक पुगेको छ, जबकि गत चैतमा यो मूल्य घटेर ५६ दशलमव ९६ डलर सम्म पुगेको थियो। पछिल्लो समय प्रतिब्यारेल ६० डलर को आसपासमा स्थिर रहेको मूल्यमा यो नाटकीय वृद्धि हो।
ब्रेन्ट क्रुडः प्रतिब्यारेल ७३ दशलमव ९९ डलर र मुरवान क्रुडः प्रतिब्यारेल ७४ दशलमव १० डलर पुगेको छ । विगतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको व्यापार युद्धका कारण कच्चा तेलको मूल्यमा गिरावट आएको थियो। तर, अहिले मध्यपूर्वको यो नयाँ र विस्फोटक द्वन्द्वले बजारलाई अनिश्चिततातर्फ धकेलेको छ। विश्लेषकहरूका अनुसार, अब सम्पूर्ण विश्वको नजर इरानले आगामी दिनमा कस्तो र कहिले जवाफी कारबाही गर्छ भन्नेमा केन्द्रित भएको छ। इरानको जवाफी कदमले नै तेल बजारको भविष्य र विश्वव्यापी आर्थिक स्थिरताको दिशा निर्धारण गर्नेछ। कच्चा तेलको मूल्यमा आउने यस्तो उछालले विश्वव्यापी अर्थतन्त्रमा सोझो असर पार्छ। यसले गाडीमा भर्ने इन्धनदेखि ढुवानी लागत हुँदै खाद्य पदार्थको मूल्यसम्मलाई प्रभावित पार्छ, जसले महँगीको नयाँ लहर सिर्जना गर्न सक्ने जोखिम बढाएको छ।