कोशी प्रदेश सदस्य भीम पराजुलीको छठ पर्वको अवसरमा २८औँ दण्डप्रणाम

हाम्रो पेज

१० कार्तिक २०८२, सोमबार १३:१२

विराटनगर , १० कार्तिक । कोशी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले यस वर्ष पनि छठ पर्वको अवसरमा २८औँ दण्डप्रणाम गर्नुभएको छ। सोमबार बिहान विराटनगरको ठूलोमिल चोकस्थित शिव पाञ्चायन मन्दिरमा पूजाआराधना गरी उहाँले दण्डप्रणाम प्रारम्भ गर्नुभएको हो । पराजुलीले मन्दिरबाट तीन किलोमिटर पूर्वस्थित सिंघिया खोलामा निर्मित छठघाटसम्म दण्डप्रणाम गर्दै जाने र त्यहाँ पुगेर अस्ताउँदो सूर्यलाई अर्घय अर्पण गरी उपासना सम्पन्न गर्ने बताउनुभयो ।

पराजुली विगत ३५ वर्षदेखि निरन्तर छठ व्रत बस्दै आउनु भएको छ । दण्डप्रणाम क्रमको २८औं वर्ष हो । बौद्ध, किरातसहितको वैदिक सनातन हिन्दू धर्मप्रति आफ्नो गहिरो आस्था रहेको बताउँदै पराजुलीले हिन्दू धर्म विश्वकै सबैभन्दा प्राचीन धर्म भएको उल्लेख गर्नुभयो । विराटनगर महानगरपालिकाका मेयर रहँदासमेत उहाँले प्रत्येक वर्ष छठ पर्वमा यस्तै दण्डप्रणाम गर्दै आउनु भएको थियो । काग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका पराजुलीले सनातन हिन्दू राष्ट्रको वकालत गर्दै आउनु भएको छ । आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदैछ । छठ पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिपूर्वक समापन हुन्छ ।बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने गर्छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व अस्ति शनिवारदेखि शुरू भएको हो । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाने गरिन्छ । दोस्रो दिन सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । कात्तिक शुक्ल षष्ठीका दिन आज निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने गरिन्छ । आज रातभर जागा बसी भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।