search logo
NOTIFICATIONS

भारी वर्षा, बाढी र डुबानले जनजीवन अस्तव्यस्तः ११ राजमार्ग पूर्णरूपमा अवरुद्ध

हाम्रो पेज

१६ भाद्र २०८२, सोमबार १३:३४

काठमाडौँ, १६ भाद्र । मनसुनको सक्रियतासँगै देशका विभिन्न भागमा भारी वर्षा, बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ। यसैगरी, कोशी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ। राति पनि सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। गएरातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ। कञ्चनपुरको दोधारामा १७९ मिलिमिटर पानी परेको छ, जसले गर्दा जोगबुढा नदीमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कञ्चनपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन्। दोधाराचाँदनी नगरपालिका–८ को रामपुरे टापुस्थित जर्गाटोलका २५ घर जोगबुढा नदीको पानीले डुबानमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराका अनुसार, ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा सारिएको छ। वडा नम्बर ११ मा पनि पाँच घरमा पानी पसेको छ। प्रहरी चौकी बाबाथान र इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको टोली उद्धार कार्यमा खटिएको छ। अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव उच्च भएको छ। सोमबार बिहान नदीमा पानीको बहाव १ लाख ५१ हजार क्युसेक नाघेपछि नेपाल–भारत सीमा क्षेत्रको शारदा ब्यारेज वनबासा पुलमा चारपांग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ। मौसमविदका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा भए पनि अरब सागरबाट आउने जलवाष्पयुक्त हावा र नेपालको दक्षिणी सिमानामा बनेको न्यूनचापीय क्षेत्रको असरले विशेषगरी सुदूरपश्चिममा बढी वर्षा भइरहेको छ। यता, पूर्वी नेपालको सप्तकोशी नदीमा पनि पानीको सतह बढेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार, आइतबार राति १० बजे कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख २६ हजार ५६० क्युसेक पुगेको छ। ५६ वटा ढोकामध्ये अहिले ३१ वटा खोलिएका छन्। पानीको प्रवाह १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतका लागि रातो बत्ती बालिने गरिएको छ। वर्षापछिको बाढी र पहिरोका कारण आज देशका ११ वटा मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्। यसले गर्दा यात्रुले ठूलो सास्ती भोग्नुपरेको छ।


पूर्णरूपमा अवरुद्ध राजमार्गहरूः
संखुवासभास्थित कोशी राजमार्ग
रसुवाको नेपाल–चीन जोड्ने पुल
रसुवाकै पासाङल्हामु राजमार्ग
सिन्धुपाल्चोकको अरनिको राजमार्ग
रोल्पाको घोराही–रुकुम सहिद मार्ग
रुकुम पश्चिमको जाजरकोट–डोल्पा–भेरी सडक
कालीकोटको कर्णाली राजमार्ग
जाजरकोटको मोर्क–चंखिला सडक
रुकुम पश्चिमको मध्यपहाडी राजमार्ग
जाजरकोटको जाजरकोट–डोल्पा सडक

एकतर्फी सञ्चालनमा रहेका सडकहरूः
काठमाडौँको धार्चे सडक
तेह्रथुमको मध्यपहाडी लोकमार्ग
रसुवाको गल्छि–त्रिवेणी–मैलुङ–स्याफ्रु सडक
बागलुङको कालीगण्डकी करिडोर
नवलपरासी पूर्वको कालीगण्डकी करिडोर
तनहुँको पृथ्वी राजमार्ग
दाङको राप्ती राजमार्ग
अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडक
प्रहरीले अवरुद्ध राजमार्गहरूमा पहिरो पन्छाएर सवारी सञ्चालन गर्ने प्रयास गरिरहेको जनाएको छ। बाढी पूर्वानुमान महाशाखाले कैलाली, कञ्चनपुर, दार्चुला, डडेल्धुरा, बझाङ, बैतडी, डोटी, बाजुरा, अछाम, हुम्ला, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, रसुवा, धादिङ, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ, तनहुँ र बर्दिया लगायतका जिल्लाका खोला तथा नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।