हाम्रो पेज
ओखलढुंगा, १३माघ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६, बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी पत्नी करिब ८० वर्षीया चन्द्रमाया राईको हत्या गरिएको छ । सोमबार माघ १२ राति उनीहरूको हत्या गरिएको हो । पसल सञ्चालन गर्दै आएका राई दम्पतीको लुटपाटपछि हत्या गरिएको हुन सक्ने स्थानीयवासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा श्रीमान्को शव भेटिएको छ । खाटको छेउ भुइँमा सिरक ओढेकै अवस्थामा श्रीमतीको शव भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली त्यसतर्फ लागेको थियो । त्यस आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको डीएसपी मदन केसीले बताउनुभयो । गएको पुस १५ गते पनि सोही वडाको भदौरेस्थित गैरीगाउँमा मगर दम्पतीको लुटपाटपछि हत्या गरिएको थियो । त्योभन्दा अगाडि असोज २६ गते सिद्धिचरण नगरपालिका–४, चार्खुमा एकल महिला रत्नकुमारी कटवाल ९कार्की०को हत्या गरिएको थियो । उक्त हत्यामा संलग्न आरोपमा चार युवा, मिलन भनिने संगम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भनिने अशोक भुजेललाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । फेरि त्यही ठाउँमा अर्का दम्पतीको उस्तै प्रकृतिमा हत्या गरिनुले आमनागरिकमा त्रास पैदा भएको छ । शृंखलाबद्ध रूपमा भएका हत्याका घटनाका कारण स्थानीयवासी त्रसित हुनाका साथै सुरक्षा चुनौती बढेको छ । गाउँघरमा हुने यस्ता खालका घटनाले नागरिकको सुरक्षामा चुनौती थपिएको भन्दै तत्काल दोषी पत्ता लगाई कारबाहीको दायरमा ल्याउन स्थानीयवासीले प्रहरीसमक्ष आग्रह गरेका छन् ।