वर्तमान सरकारको आयु बढीमा डेढ महिना : एमाले स्थायी कमिटी सदस्य अधिकारी

हाम्रो पेज

२१ कार्तिक २०८२, शुक्रबार १६:४१
विराटनगर, २१ कात्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले वर्तमान सरकारको आयु बढीमा डेढ महिना भएको बताउनुभएको छ । सरकार बनाउन लागिपर्नेहरु नै अहिले सरकारको विरोध गरेर मन्त्री प्रधानमन्त्रीको राजीनामा माग गर्न थालेको बताउँदै उहाँले यो सरकार धेरैदिन नटिक्ने दाबी गर्नुभयो ।
प्रेस चौतारी नेपाल मोरङ शाखाले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेता अधिकारीले वर्तमान राजनीतिक निकासकालागि सबैभन्दा उत्तम उपाय भनेकै संसद पुनःस्र्थापना भएको बताउनुभयो । उहाँले संसद पुनःस्थापना गरेर त्यस मार्फत संविधान संशोधन गरी बाहिरका मानिसलाई समेत प्रधानमन्त्री बनाउने व्यवस्था गर्ने, त्यसमा जेन–जीलाई पनि सहभागी गराउने र त्यसैको आधारमा राजनीतिक दलले स्वीकार गर्ने व्यक्तिको नाममा सहमति गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा राख्नुभयो । संविधान र लोकतन्त्रलाई लिकमा ल्याएर अगाडि बढ्नकालागि पनि संसद पुनःस्थापना महत्वपूर्ण भएको उहाँको भनाइ छ ।
नेता अधिकारीले अहिलेको सरकार तत्कालिन राजा ज्ञानेन्द्रले गरेको जस्तो निर्वाचन मात्रै गर्न सक्ने खालको भएको बताउनुभयो । उहाँले भन्नुभयो, राजा ज्ञानेन्द्रले पनि सत्ता हातमा लिएर एउटा चुनावको नाटक गरेका थिए त्यसको केही अर्थ भएन, के अहिलेको सरकारले त्यस्तै चुनाव गर्न चाहेको हो ? यो सरकार चुनावका लागि नै होइन भन्दै उहाँले यदी चुनावको लागि हुन्थ्यो भने प्रहरीको मनोबल बढाउने र लुटेका हतियार फिर्ता गर्ने र शान्ति सुव्यवस्था कायम गर्ने तर्फ लाग्नुपर्ने बताउनुभयो । तर, सरकारले त्यसो गर्न सकेको छैन, त्यसकारण यो सरकारले चुनाव गराउन सक्दैन, अधिकारीले भन्नुभयो ।

जेनजी आन्दोलनका नाममा भएको आगजनी र तोडफोड रोक्न नसक्नुमा सुरक्षा संयन्त्र चुकेको बताउँदै उहाँले आन्दोलनमा हुनसक्ने अराजक गतिविधिको सुईको नपाउने सुरक्षा संयन्त्र काम नलाग्ने उहाँको धारणा थियो ।
अर्को एक प्रसङ्मा नेता अधिकारीले सहकारी ठगी गर्ने कसैलाई पनि नछाड्ने बताउनुभयो । उहाँले पछिल्लो समयमा सहकारीमा देखिएको विकृतिलाई अन्त्य गरी साना तथा थोरै लगानीका पूँजीहरूको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।