हाम्रो पेज
विराटनगर, १५ अषाढ I सुनसरीको रामधुनी नगरपालिकामा गएराति दुई मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, रामधुनी नगरपालिकास्थित चतरा कान्छी चोक सडकखण्डमा कान्छी चोकबाट कालाबन्जार जाँदै गरेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १– ०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा प्रदेश १–०२–०५६ प ५८६४ नम्बरका मोटरसाइकल चालक रामधुनी ६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिष चौधरी र को ३३ प ९६०५ नम्बरका मोटरसाइकल चालक इनरुवा ६ का ५१ वर्षीय बिन्दु यादवको मृत्यु भएको हो। प्रहरीका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। त्यसैगरी, दुर्घटनामा मृतक इनर्चनकी श्रीमती ३२ वर्षीया प्रतीक्षा चौधरी र अर्को मोटरसाइकलमा पछाडि सवार इटहरी ७ का ३६ वर्षीय रमेश चौधरी घाइते भएका छन्। उनीहरूको पनि सोही प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।