
झापा, ६ श्रावण । झापाको हल्दीबारी गाउँपालिका ४, ओली चौकमा मंगलबार बिहान एउटा दुःखद आगलागीको घटना भएको छ। बिहानको खाना बनाउने क्रममा ग्यास लिक भएर सल्किएको आगो निभाउन खोज्दा एकै परिवारका चार सदस्य गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, घाइते हुनेहरूमा घरमूली ६० वर्षीय पुण्यप्रसाद ओली, उहाँका ३३ वर्षीय छोरा सन्तोष, ३२ वर्षीया बुहारी अनिता र २० वर्षीय कान्छा छोरा आर्यन ओली रहनु भएको छ। उनीहरू सबैको शरीरका विभिन्न भाग जलेको छ।
प्रहरीका अनुसार, मंगलबार बिहान करिब ८ः४० बजे पुण्यप्रसादको तीनतले पक्की घरको दोस्रो तलामा रहेको भान्सामा रोटी पकाइँदै थियो। सोही क्रममा ग्यास सिलिन्डरबाट ग्यास लिक भई अचानक आगो फैलिएको थियो। आगो देखेपछि परिवारका सदस्यहरूले निभाउने प्रयास गरेका थिए, तर त्यही क्रममा उनीहरू आफैँ आगोको चपेटामा परे। घटनालगत्तै उनीहरूलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभारा अस्पताल लगिएको थियो। तर, जलेको मात्रा गहिरो भएकाले थप उपचार आवश्यक देखिएपछि सबैलाई विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ। आगलागी प्रहरी टोली र स्थानीयबासीको सक्रियतामा करिब ९ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट भान्सा कोठामा आंशिक क्षति पुगेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।