हाम्रो पेज
काठमाडौं, ९ चैत । प्रधानमन्त्रीको शपथग्रहणको मिति नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भित्र नेतृत्व चयन तथा मन्त्रिपरिषद् गठनसम्बन्धी तयारी तीव्र रूपमा अघि बढिरहेको छ। पार्टीका शीर्ष नेताहरूबीच सम्भावित मन्त्रीहरूको चयनका विषयमा गहन र व्यवस्थित छलफल भइरहेको जनाइएको छ। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह बीच यस विषयमा निरन्तर परामर्श भइरहेको एक नेताले जानकारी दिए। छलफलमा योग्य, विषयविज्ञ तथा कार्यक्षमता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सक्षम र प्रभावकारी मन्त्रिपरिषद् गठन गर्ने लक्ष्य लिइएको छ। संघीय संसद सचिवालयले आगामी बिहीबार ९चैत १२० नवनिर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रम तय गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले बुधबार पद तथा गोपनीयताको शपथ लिनेछन् र उनैले अन्य सांसदहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ। सांसदहरूको शपथग्रहण सम्पन्न भएसँगै रास्वपाले संसदीय दलको बैठक बोलाई दलको नेता चयन गर्ने तयारी गरेको छ। त्यसपछि संविधानअनुसार बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ, जसअन्तर्गत राष्ट्रपति रामचन्द्र पौडेल ले औपचारिक रूपमा प्रधानमन्त्री नियुक्त गर्नुहुने छ । पार्टीले चैत १३ गते प्रधानमन्त्रीको शपथग्रहण सम्पन्न गर्ने आन्तरिक तयारी गरेको बताइएको छ। मन्त्रिपरिषद्को संरचनाबारे पनि पार्टीले आफ्नो चुनावी प्रतिबद्धताअनुसार मन्त्रालयहरूको संख्या सीमित गर्ने दिशामा छलफल गरिरहेको छ। हालको संवैधानिक प्रावधानअनुसार अधिकतम २५ मन्त्रालय रहन सक्ने भए पनि रास्वपाले यसलाई घटाएर १५ देखि १८ मन्त्रालयभित्र सीमित गर्ने योजना अघि सारेको छ। यसले प्रशासनलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ। मन्त्री चयन प्रक्रियामा पारदर्शिता र योग्यता–आधारित दृष्टिकोण अपनाइने पार्टीले जनाएको छ। सम्भावित उम्मेदवारहरूको पृष्ठभूमि, अनुभव र क्षमताको सूक्ष्म मूल्यांकन गरिँदैछ, जसले दीर्घकालीन रूपमा सुशासन र सेवा प्रवाहमा सुधार ल्याउने विश्वास गरिएको छ। गृह मन्त्रालयका लागि उपसभापति डोलप्रसाद अर्याल र नेता सुनिल लम्साल को नाम चर्चामा रहेको बताइएको छ। यसैगरी अर्थ मन्त्रालयका लागि स्वर्णिम वाग्ले को नामप्रति व्यापक सहमति देखिएको छ।अन्य सम्भावित मन्त्रीहरूमा मनिष झा, सोबिता गौतम, इन्दिरा राना मगर लगायतका नामहरू चर्चामा छन्। साथै, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सस्मित पोखरेल, राजुनाथ पाण्डे र सुम्निमा उदास ले पनि मन्त्री पदप्रति आकांक्षा व्यक्त गर्नुभएको छ । त्यसैगरी, संसदीय दलको संरचनाअन्तर्गत मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी र सचेतकमा निशा डाँगी लाई जिम्मेवारी दिने विषयमा पनि आन्तरिक छलफल भइरहेको बताइएको छ।