search logo
NOTIFICATIONS

मनसुनको कहर सुरुः नुवाकोटमा एकजना बेपत्ता, डोल्पामा १५ वटा घर भत्किए

हाम्रो पेज

१३ असार २०८२, शुक्रबार १५:०८
काठमाडौं, १३ अषाढ I मनसुन सक्रिय भएसँगै परेको अविरल वर्षाले देशका विभिन्न भागमा जनधनको क्षति पुऱ्याउन सुरु भएको छ। नुवाकोटको ककनी गाउँपालिकामा बिहीवार राति बाढीले गोठ बगाउँदा एक महिला बेपत्ता भएकी छन् भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्। उता, डोल्पामा पहिरोले १५ घरमा क्षति पुगेको छ। यी घटनाहरूले यस वर्षको मनसुनको सुरुवात विनाशकारी हुन सक्ने संकेत दिएका छन्।

नुवाकोट प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीका अनुसार ककनी–१ स्थित बिमचना खोलामा आएको बाढीले सुतिरहेको अवस्थामा गोठ बगाउँदा ३२ वर्षीया कमला बलामी बेपत्ता हुनु भएको हो । उहाँका पति अशोक बलामीलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ। सशस्त्र प्रहरी र स्थानीयले बेपत्ता महिलाको खोजी जारी राखेका छन्।
यस्तै, डोल्पाको काइके गाउँपालिका–४, रिवामा पहिरोले १५ वटा घरमा क्षति पुगेको छ भने तीन जना सामान्य घाइते भएका छन्। सशस्त्र प्रहरी बलको टोली उद्धारमा खटिएको छ।
यी घटनाहरूसँगै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा जलसतह बढ्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, कास्की, गोरखा, लमजुङ र मकवानपुर जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम एल्लो अलर्ट रहेको महाशाखाले जनाएको छ। यसबाहेक, झापा, इलाम, ताप्लेजुङदेखि सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसम्मका करिब ३५ भन्दा बढी जिल्लाका नदी तटीय क्षेत्रमा पनि सामान्य सतर्कता अपनाउन सुझाइएको छ। यो वर्षको मनसुनमा देशभर करिब २० लाख मानिस प्रभावित हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुमान गरेको छ। प्राधिकरणका अनुसार चारलाख ४७ हजार घरधुरी बाढी पहिरोको जोखिममा छन्। यही जोखिमलाई मध्यनजर गर्दै सरकारले विगतका कमजोरीबाट पाठ सिकेर प्रतिकार्यलाई प्रभावकारी बनाउने दाबी गरेको छ। विपद्को पूर्वसूचनाका लागि एसएमएसको सट्टा सीधै मोबाइलमा कल गरेर सचेत गराउने, हरेक पालिकामा आपत्कालीन मानवीय सहायता केन्द्र स्थापना गर्ने र खोज, उद्धार तथा राहतका लागि सुरक्षा निकाय र हेलिकप्टरहरूलाई तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ।