सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व लिन तयार

हाम्रो पेज

२५ भाद्र २०८२, बुधबार १८:१३

काठमाडौं, २५ भाद्र ।अन्तरिम सरकारको नेतृत्व सम्हाल्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की तयार हुनु भएको छ। जेन जी पुस्ताको जुम भर्चुअल बैठकमा अन्तरिम सरकार निर्माणार्थ प्रधानसेनापति अशोक सिग्देलसँगको वार्ताका लागि पूर्वप्रधानन्याधीश कार्कीलाई अगाडि बढाउने निचोड निकालेका थिए । उनीहरूले यो निचोड निकाले पनि कार्कीसँग संवाद हुन सकेको थिएन । तर पाँच घण्टाभन्दा लामो समयदेखि चलेको भर्चुअल बैठकबीच भएको टेलिफोन संवादमा कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको सन्देश आएको हो । ‘सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको खबर पठाउनु भएको छ’, बैठकमा एकजना जेनजी सदस्यले जानकारी दिँदै भने, ‘उहाँ तयार भइसकेपछि अब हामी प्रधान सेनापतिसँग वार्ताका लागि जान्छौं ।’ कार्कीलाई नेतृत्व स्वीकार्ने विषयमा जेनजी समूह करिब करिब एकमत भएका छन् । जेनजी समूहले प्रधान सेनापति सिग्देलसँग वार्ताका लागि कार्कीलाई अगाडि बढाउन चाहेका थिए । कार्कीसँग भर्खरै संवाद भएपछि उक्त सन्देश प्रेषित गरिएको हो । बैठकमा जेनजी पुस्ताले कुनै राजनीतिक दलसँग आबद्ध भएको युवा र नेतृत्व वार्तामा जान नहुने सहमति जुटाएका छन् । त्यहीअनुसार कार्कीको नाम करिब अनुमोदन भएको छ । उक्त भर्चुअल बैठकमा सहभागी सागर ढकालले पनि सुशीलालाई नै अघि बढाउन उचित हुने बताएका छन्। जुम बैठकमा जेनजीले कार्कीलाई स्वीकारेर जान सकिने त्यससपछि बालेन्द्र साह र सागर ढकालहरू पनि विकल्प हुन सक्ने बताएका थिए । तर अहिलेलाई सबैभन्दा उपयुक्त पात्र कार्की नै रहेको निचोड निकालिएको छ । उनीहरूको निचोडअनुसार शून्यमा रहेको देशलाई अघि बढाउन सुशीला तयार हुनुभएको छ ।