हाम्रो पेज
विराटनगर, २६ अषाढ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोलामा आज बिहान आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ । बाढीले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस पूर्ण रूपमा बगाएको छ भने एक स्टिल पुलमा पनि क्षति पुगेको छ, जसकारण १३० घरपरिवार विद्युत्विहीन भएका छन् । स्थानीयका अनुसार, बाढीले जलविद्युत् आयोजनाको संरचना बगाउँदा केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति पुगेको छ । यसका कारण पैयुथन्थापका १३० घरमा बिजुली आपूर्ति बन्द भएको हो । उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस पूर्ण रूपमा बगाएको । गत वर्ष मात्रै रु ३५ लाखको लागतमा निर्माण गरिएको स्टिल पुल बाढीले बगाएको ।यस्तै पैयुथन्थापको खरेयाबोटका दुई परिवार विस्थापित भएका छन् भने अन्य सात परिवार बाढीपहिरोको उच्च जोखिममा रहेका छन् ।
खोला किनारमा लगाइएको धानबालीमा पनि बाढीले क्षति पुर्याएको छ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न नदी तथा खोलामा बाढीको सम्भावना रहेको चेतावनी जारी गरेको थियो । विभागका अनुसार कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, पर्वत, गुल्मी, प्युठान, अर्घाखाँची र रुपन्देही लगायतका जिल्ला भएर बग्ने नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको बताइएको थियो । यसैगरी सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, बारा, पर्सा, दोलखा, रसुवा, नुवाकोट र धादिङ भएर बहने नदीहरूमा पनि बाढीको जोखिम रहेको विभागले जनाएको छ । विभागको चेतावनीकै बीच बागलुङमा बाढीले ठूलो भौतिक क्षति गरेको हो ।
