हाम्रो पेज


कसरी भइरहेको थियो तस्करी ?
सुरक्षा स्रोतका अनुसार चालक झाले यसअघि पनि पटक–पटक तस्करीको सामान ओसारपसार गर्ने गरेको आशंका छ । ‘सामान्यतया अरू गाडीको डिकी पछाडि हुने भएकाले जाँच त्यता केन्द्रित हुन्थ्यो, तर यो ईभी गाडीको डिकी अगाडिपट्टि भएकाले सहजै छलिँदै आएको रहेछ,’ सुरक्षा स्रोतले भन्यो, ‘विशेष सूचनाका आधारमा अगाडिको डिकी खोलेर हेर्दा तस्करीको सामान फेला परेको हो ।’
लुनियाको ससुरालीतर्फको कस्मेटिक होलसेल पसल विराटनगरस्थित आन्तरिक राजस्व कार्यालय पछाडिको चुलाचुली मार्गको गल्लीमा रहेको र बरामद सामान त्यही पसलका लागि ल्याइउने गरिएको स्रोतको दाबी छ । यस विषयमा आन्तरिक राजस्व कार्यालयले समेत अनुसन्धानको तयारी थालेको बुझिएको छ ।
चालक धरौटीमा रिहा, १४–१५ गते हकदाबी खुल्ने
विराटनगर भन्सार कार्यालयका अनुसार पक्राउ परेका सवारी चालक झा बिहीबार दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । भन्सार अधिकृत एवं अनुसन्धान अधिकृत सविन अधिकारीको इजलासले चालकको हकमा धरौटी रकम खुलाउने आदेश दिएको हो । तर, गाडी धनी र सामान धनीको हकमा भने मुद्दा अनुसन्धानकै क्रममा रहेको विराटनगर भन्सार कार्यालयका एक अधिकारीले जानकारी दिए ।
‘सवारी चालक बापतको २ लाख धरौटी बुझाएर चालक छुटेका छन्, तर मुद्दा प्रक्रियामै छ,’ ती अधिकारीले भने, ‘अहिले अनुसन्धानकै क्रममा रहेकाले मालधनी र सवारीधनी आउने चरण बाँकी नै छ ।’
भन्सार दस्तावेजमा गाडी लुनियाको अडिट फर्मको नाममा रहेको देखिएको उल्लेख गर्दै उनले गाडी धनी आफैँ सम्पर्कमा नआएमा कानुनी प्रक्रियाअनुसार १५ दिनको म्याद राखेर हकदाबीको सूचना निकालिने बताए । ‘भन्सारले महिनामा दुई पटक १५ र ३० गते हकदाबीको सूचना निकाल्छ । आज ११ गते भएकाले अब १४–१५ गतेतिर १५ दिने म्यादसहितको हकदाबी निकाल्छौँ,’ उनले भने, ‘त्यसअघि नै सवारीधनी आफैँ बुझ्न आएमा हकदाबी कुरिरहनु पर्दैन ।’
लुनियाको दाबी: ‘चालकले गल्ती गरेछन्’
विराटनगर २, बन्जारा चोकस्थित इस्टर्न अपार्टमेन्टमा बस्दै आएका सीए पीयूष लुनियाले आफू तीन दिनदेखि काठमाडौँमा रहेको र बुधबार राति मात्रै विराटनगर फर्किएको बताउँदै चालकको लापरबाहीले घटना भएको दाबी गरेका छन् । ‘अफिसको स्टाफले विवाहको सिजन भएकाले केही सामान ल्याउनुछ भनेको रहेछ, चालकले सोही अनुसार सामान ल्याएर अगाडिको डिकीमा राखेछन्,’ लुनियाले भने, ‘१५–२० हजारको सामान हुनुपर्नेमा प्रहरीले १ लाखको सामान देखायो । म पनि हेरेर छक्क परेको छु ।’ यसअघि आफ्नो गाडीमा कहिल्यै यस्तो सामान नओसारिएको उनले जिकिर गरे ।
