search logo
NOTIFICATIONS

बूढीगण्डकीमा विनाशकारी बाढीः३५ घरसहित ६ पुल बगायो, १० जना सम्पर्कविहीन

हाम्रो पेज

२५ आश्विन २०८३, आईतवार १२:३२

गोरखा,२५ आश्विन । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीले दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुलसहित छवटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। बाढीले घर, जलविद्युत् आयोजनाको क्याम्प तथा अन्य भौतिक संरचनामा समेत क्षति पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले आरुघाट गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने मोटरेबल पुल तथा आरुघाट गाउँपालिकाको मान्बु र सोती जोड्ने पुल बगाएको छ। त्यस्तै, धार्चे गाउँपालिका–१ र ३ जोड्ने दोभान खोलाको बेलीब्रिजसमेत बाढीले बगाएको छ।

यसैगरी, माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भञ्ज्याङ र जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको छ। बाढीले चुमनुब्री गाउँपालिका–३ अन्तर्गत पैयुँ र बगर क्षेत्रका करिब ३५ घरमा क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार जगत् बगरका नौवटा, सल्लेरीका पाँचवटा र ठाडो भञ्ज्याङका तीनवटा घर बगाएको छ। जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा समेत क्षति पुगेको छ। त्यस्तै, सल्लेरीमा रहेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्पसमेत बाढीले बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

पहिरोले खोला थुनिएपछि बाढी

गोरखाका पत्रकार शिव उप्रेतीका अनुसार चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा राति करिब ४ बजे पहिरो खसेर खोला थुनिएको थियो। त्यसपछि आएको बाढीले बूढीगण्डकी नदीको जलसतह बढाएको र नदी आसपासका बस्ती तथा पूर्वाधारमा क्षति पुर्‍याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यसैबीच, उङ्गिलुङ खोलाको किनारमा रहेको गोठमा बस्दै आएका पाँच जना गोठाला सम्पर्कविहीन रहेको स्थानीय दिपेश लामाले जानकारी दिनुभएको छ। बाढीबाट प्रभावित अन्य व्यक्तिको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

बूढीगण्डकी, त्रिशूली र नारायणीका तटीय क्षेत्रमा सतर्कता

बूढीगण्डकी नदीमा आएको बाढीसँगै पानी र गेग्रान बगेको पाइएको छ। बाढीले जलमापन केन्द्र तथा पुलसमेत बगाएकाले नदीको बहावसम्बन्धी थप तथ्याङ्क प्राप्त गर्न कठिन भएको छ। यस अवस्थालाई ध्यानमा राख्दै बूढीगण्डकी, त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा आइतबार साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसम विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार बिहान करिब ८ः४५ बजेसम्म प्राप्त तथ्याङ्कमा बूढीगण्डकी नदीको जलसतह ८ दशमलव ५ मिटरसम्म पुगेको थियो। त्यसपछि बाढीले जलमापन केन्द्र नै बगाएकाले थप तथ्याङ्क प्राप्त हुन सकेको छैन। गेज रिडरबाट प्राप्त जानकारीअनुसार बाढीको सतह पुलभन्दा करिब एकदेखि दुई मिटरसम्म माथि पुगेको थियो। यसले नदी आसपासका बस्ती तथा पूर्वाधारमा गम्भीर जोखिम रहेको देखाएको छ।

त्रिशूली र नारायणीमा पनि जोखिम

बूढीगण्डकीमा आएको बाढीले त्रिशूली नदीमा पार्न सक्ने प्रभावको आकलन गर्दै बेनीघाटसम्मको क्षेत्रलाई अति उच्च जोखिममा राखिएको वरिष्ठ हाइड्रोलोजिस्ट पराजुलीले जानकारी दिनुभएको छ। बूढीगण्डकी र त्रिशूली नदीको दोभान आसपासको क्षेत्र विशेष जोखिममा रहेको उहाँको भनाइ छ। उहाँका अनुसार बाढीका कारण त्रिशूली नदीको जलसतह करिब तीन मिटरसम्म बढ्न सक्ने अनुमान गरिएको छ। हाल त्रिशूलीको जलसतह सतर्कता तहभन्दा निकै तल रहेकाले तत्काल खतराको तहमा पुग्ने सम्भावना कम देखिए पनि नदी कटानको जोखिम भने कायम छ। मुग्लिनसम्मको क्षेत्रलाई उच्च जोखिममा राखिएको छ भने मुग्लिनभन्दा तलको क्षेत्रलाई मध्यम जोखिममा वर्गीकरण गरिएको छ। पराजुलीका अनुसार देवघाटमा हाल नदीको जलसतह करिब चार मिटर रहेको छ। त्यहाँ जलसतह थप साढे दुई मिटरसम्म बढ्न सक्ने अनुमान छ। यसअनुसार देवघाटमा जलसतह साढे ६ देखि सात मिटरसम्म पुग्न सक्ने देखिएको छ। यो स्तर सतर्कता तहभन्दा तलै रहने अनुमान गरिए पनि नदीको बहावमा उल्लेख्य वृद्धि हुन सक्ने भएकाले चितवन र नवलपरासीका नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढीमा गेग्रानसमेत मिसिएको आशंका

बाढीको प्रकृतिबारे जानकारी दिँदै वरिष्ठ हाइड्रोलोजिस्ट पराजुलीले प्राप्त भिडियो फुटेजमा पानीसँगै गेग्रानसमेत बगिरहेको देखिएको बताउनुभएको छ। उच्च बहावसँगै गेग्रानसमेत मिसिएर आएको देखिएकाले बाढीको प्रकृति र वास्तविक कारणबारे थप अध्ययन भइरहेको उहाँले जानकारी दिनुभएको छ। बाढीबाट भएको क्षति, सम्पर्कविहीन व्यक्तिहरूको अवस्था तथा नदीको बहावसम्बन्धी थप विवरण आउन बाँकी छ। जोखिममा रहेका नदी तटीय क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्न र सतर्क रहन आग्रह गरिएको छ।

बाढीले चार जलविद्युत् आयोजनामा क्षति
बुढीगण्डकी नदीमा आएको बाढीका कारण निर्माणाधीन चार जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । बाढीले आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, सामग्री, बेलिब्रिज तथा पहुँच सडकमा क्षति पुर्याएको छ । प्रारम्भिक विवरणअनुसार टाइम्स इनर्जी प्रालिद्वारा प्रवद्र्धित ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको हो । साथै, केही निर्माण उपकरणसमेत बगाएको विवरणमा उल्लेख छ । त्यसैगरी, २४ दशमलव ५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजना, ३०दशमलव ५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजना र १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । बाढीका कारण केही आयोजनाका क्याम्प क्षेत्रका घरमा क्षति पुगेको, बेलिब्रिज बगाएको तथा केही पुलमा क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ । यस्तै, निर्माण सामग्री तथा उपकरण बगाएको र आयोजना स्थलसम्म पुग्ने पहुँच सडक तथा पुलमा समेत क्षति पुगेको जनाइएको छ ।