search logo
NOTIFICATIONS

छैठौं संस्करणको ‘विराट सडक महोत्सव’ असोज २५ देखि विराटनगरमा हुने

हाम्रो पेज

१९ आश्विन २०८३, सोमबार १६:३२

विराटनगर, १९ अशोज । छैठौं संस्करणको ‘विराट सडक महोत्सव’ आउँदो २५ गते घटस्थापनाको दिनदेखी सुरु हुने भएको छ I विराटनगर महानगरपालिकाको मुख्य प्रवर्द्धन तथा मन्जिना मुभिज क्रियसन प्रा.लि.को आयोजनामा सञ्चालन हुने महोत्सव आगामी असोज २५ गतेदेखि ३० गतेसम्म विराटनगर–९ स्थित हिमालय रोडमा आयोजना हुने भएको हो।

आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरि यसबारे जानकारी गराएको हो I ‘स्वाद, संगीत र संस्कृतिको महासंगम’ भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सव प्रत्येक दिन दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ। महोत्सवले आन्तरिक तथा बाह्य पर्यटक, स्थानीय नागरिक, युवा पुस्ता तथा विभिन्न क्षेत्रका आगन्तुकलाई एकै स्थानमा मनोरञ्जन, मौलिक खानपान, कला, संस्कृति र संगीतको अनुभव दिलाउने उद्देश्य राखेको आयोजक संस्थाका निर्देशक जतिन ताम्राकारले जानकारी दिनुभयो ।

महोत्सवमार्फत आन्तरिक पर्यटन प्रवर्द्धन, विराटनगरको पर्यटन तथा सांस्कृतिक पहिचानको प्रचार–प्रसार, स्थानीय उत्पादन तथा व्यवसायको बजार विस्तार तथा स्थानीय कलाकारलाई अवसर प्रदान गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। महोत्सवमा प्रवेश भने पूर्ण रूपमा निःशुल्क रहनेछ।

महोत्सवका मुख्य आकर्षणमध्ये विभिन्न जातजाति तथा समुदायका मौलिक ३० प्रकारका खानाका परिकार, स्थानीय उत्पादन तथा व्यवसायको प्रदर्शनी र प्रवर्द्धन, स्थानीयदेखि राष्ट्रियस्तरसम्मका कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति, दशैँ विशेष मनोरञ्जनात्मक कार्यक्रम तथा विविध सांस्कृतिक प्रस्तुतिहरू रहेका छन्।

महोत्सवलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा सञ्चालन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने तथा बैंकिङ सेवा, सहकारी तथा एम्बुलेन्सको आवागमनमा कुनै अवरोध नहुने व्यवस्था मिलाइने बताइएको छ। हिमालय रोड नजिकै रहेका वैकल्पिक बाइपास सडकमार्फत सवारी साधन सञ्चालन गरिने जनाइएको छ। आयोजकले विराटनगरवासी तथा सम्पूर्ण आगन्तुकलाई महोत्सवमा सहभागी भई दशैँको उत्सवलाई थप उल्लासमय बनाउन आग्रह गरेको छ।