search logo
NOTIFICATIONS

फ्लाई दुबई विमानमा को–पाइलटकै हमलाः १८० यात्रुको ज्यान कसरी जोगियो ? विमान भित्र के के भयो ?

हाम्रो पेज

१४ आश्विन २०८३, बुधबार १९:४६
‘ फ्लाईदुबईमा चक्कु प्रहार भइरहेको छ’ भन्दै चिच्याएपछि यात्रु ककपिटतर्फ दौडिए

एजेन्सी, १४ आश्विन । यूएईको दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको यात्रुवाहक विमान ठूलो दुर्घटनाबाट जोगिएको छ। उडानका क्रममा विमानमा हिंसात्मक घटना भएपछि आपत्कालीन संकेत पठाइएको थियो। घटनापछि विमानलाई साउदी अरबको तबुकस्थित प्रिन्स सुल्तान बिन अब्दुलअजिज विमानस्थलमा सुरक्षित अवतरण गराइएको हो। फ्लाईदुबईको उडान नम्बर एफजेड–१०७३ ले सुरुमा ‘७७००’ आपत्कालीन कोड र त्यसपछि ‘७५००’ अर्थात् विमानमा गैरकानुनी हस्तक्षेप वा अपहरणको संकेत प्रसारण गरेको फ्लाइटराडार२४को तथ्यांकले देखाएको छ। विमान केही मिनेटमै करिब १७ हजार ४ सय फिट तल झरेपछि इजरायलमा हाइज्याकको आशंका बढेको थियो। इजरायली वायुसेनाले लडाकु विमानसमेत परिचालन गरेको बताइएको छ।

तर घटनाको प्रारम्भिक अनुसन्धानपछि विमानभित्रै दुई पाइलटबीच हिंसात्मक झडप भएको विवरण सार्वजनिक भयो। इजरायली सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले को–पाइलटले अर्का पाइलटमाथि चक्कु प्रहार गर्दै विमानलाई नियन्त्रणबाहिर लैजान वा दुर्घटनातर्फ धकेल्ने प्रयास गरेको दाबी गरेका छन्। संदिग्ध को–पाइलट ओमानका नागरिक रहेको बताइएको छ।

विमानमा संयोगवश अतिरिक्त क्रू सदस्यसमेत रहेका कारण संकटको अवस्थामा अन्य पाइलटहरूले ककपिटको नियन्त्रण सम्हाल्न सकेको बताइएको छ। यात्रुहरूले समेत हस्तक्षेप गरेर आक्रमणमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको विवरण छ। घटनामा कप्तान र को–पाइलट दुवै घाइते भएको र अस्पताल भर्ना गरिएको बताइएको छ। इजरायली सुरक्षा अधिकारीहरूले अनुसन्धानपछि घटनालाई आतंकवादी हमलाका रूपमा वर्गीकरण गरेको इजरायली सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि घटनाको पूर्ण विवरण र आक्रमणको उद्देश्यबारे अनुसन्धान जारी छ। विमानमा एक सयभन्दा बढी इजरायली नागरिकसहित करिब १८० यात्रु रहेको बताइएको छ। सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रहेको फ्लाईदुबईले पुष्टि गरेको छ।

‘चक्कु प्रहार भइरहेको छ’ भन्दै चिच्याएपछि यात्रु ककपिटतर्फ दौडिए

विमानमा रहेकी मीताल नामकी यात्रुले च्यानल १२ सँग कुरा गर्दै उनका श्रीमान्सहित केही यात्रुले आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गरेको बताएकी छन्। उनका अनुसार विमानको अगाडिबाट ‘चक्कु प्रहार भइरहेको छ’ भन्ने आवाज आएपछि उनका श्रीमान् तत्काल ककपिटतर्फ दौडिएका थिए। त्यहाँ पुगेपछि अन्य इजरायली यात्रुसँग मिलेर उनीहरूले आक्रमणमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको मीतालले बताइन्। घटनाका क्रममा विमानभित्र धेरै रगतसमेत देखिएको उनको भनाइ छ। अर्को यात्रुले पनि आफूहरू आक्रमणकारीलाई नियन्त्रणमा लिएर बाँध्न सफल भएको बताएका छन्।

घटनापछि विमान साउदी अरबको तबुकमा अवतरण गराइएको हो। इजरायल र साउदी अरबबीच औपचारिक कूटनीतिक सम्बन्ध नभएकाले यात्रुहरूलाई इजरायल फर्काउन विशेष समन्वय भइरहेको बताइएको छ। फ्लाईदुबईले यात्रुहरूलाई अर्को विमानमार्फत तेल अभिभ पुर्‍याउने तयारी गरेको जनाएको छ। यसैबीच, इजरायली राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन ग्विर र अर्थमन्त्री बेजालेल स्मोट्रिचले घटनाप्रति कडा प्रतिक्रिया दिएका छन्। बेन ग्विरले इजरायलको सुरक्षा रणनीति थप सुदृढ गर्नुपर्ने बताएका छन् भने स्मोट्रिचले दोषी प्रमाणित भए कडा कारबाही हुनुपर्ने बताएका छन्। तर ब्लु एन्ड ह्वाइट पार्टीका अध्यक्ष बेनी गान्ट्जले विमानभित्र वास्तवमा के भएको थियो भन्नेबारे अन्तिम निष्कर्षमा पुग्न अझै समय लाग्ने बताएका छन्।