हाम्रो पेज

काठमाडौं, ५ आश्विन । नेपाल स्टक एक्सचेन्ज नेप्सेको डाटा सेन्टरमा साइबर आक्रमण भएपछि सोमबारको शेयर कारोबार बन्द गरिएको छ ।नेपाल स्टक एक्सचेन्जका ७२ कारोबार सदस्य कम्पनीका सर्भर रहेको डाटा हब प्रालिमा साइबर आक्रमण भएपछि अधिकांश ब्रोकर कम्पनीको ट्रेड म्यानेजमेन्ट सिस्टम टीएमएस प्रभावित भएको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुणामणि चापागाईंका अनुसार डाटा हबमा आइतबारदेखि देखिएको साइबर आक्रमणका कारण ७२ वटा ब्रोकर कम्पनीको टीएमएस सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको छ । १२ वटा ब्रोकर कम्पनीको आफ्नै टीएमएस रहेकाले ती प्रणाली भने सञ्चालन गर्न सकिने अवस्था रहेको बताइएको छ ।

अधिकांश ब्रोकरको टीएमएस प्रभावित भएपछि अपरिहार्य परिस्थितिका कारण सोमबारको शेयर कारोबार रोकिएको नेप्सेले जनाएको छ । टीएमएस विकासकर्ता कम्पनी वाइको प्रालिका अनुसार, साइबर आक्रमणपछि सम्भावित थप क्षति रोक्न कम्पनीले आफ्ना सबै प्रणाली तत्काल बन्द गरेको छ । डाटा हबले आइतबार कार्यालय समय सुरु हुनुअघि नै साइबर आक्रमण पहिचान गरेको जनाएको छ । आक्रमणका कारण टीएमएस, सीडीएससीसँग सम्बन्धित प्रणाली, पेमेन्ट गेटवे तथा अन्य आपसमा जोडिएका सेवाहरू प्रत्यक्ष रूपमा प्रभावित भएको वाइकोले जनाएको छ । साइबर आक्रमणको अवस्थाबारे थप मूल्याङ्कन भइरहेका बेला प्रयोगकर्तालाई प्रणालीमा जबरजस्ती लगइन गर्ने प्रयास नगर्न समेत आग्रह गरिएको छ । डाटा हब र नेपाल स्टक एक्सचेन्जबीचको नेटवर्क कनेक्टिभिटीका कारण यो घटनाले समग्र शेयर कारोबार प्रणालीको साइबर सुरक्षा, सञ्चालन र डाटाको विश्वसनीयतामा जोखिम सिर्जना गर्न सक्ने वाइकोले जनाएको छ । डाटा हबमा नेप्सेसहित करिब १७–१८ वटा सरकारी निकायका रेकर्डसमेत रहेको बताइएको छ । साइबर आक्रमणपछि प्रली कहिले पुनः सञ्चालनमा आउने भन्नेबारे भने तत्काल कुनै समयसीमा सार्वजनिक गरिएको छैन । घटनाको थप प्राविधिक मूल्याङ्कन तथा सुरक्षा परीक्षण भइरहेको बताइएको छ ।