नेकपा एमालेमा महासंग्राम, अध्यक्षका लागि ओली भर्सेस ईश्वर

हाम्रो पेज

२९ मंसिर २०८२, सोमबार १६:५५

काठमाडौं, २९ मंसिर । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । सोमबार ओली र पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । ओलीले तेस्रो कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिनु भएको छ । ओलीको प्रस्तावकमा रामबहादुर थापा ‘बादल’ र समर्थकमा विष्णु पौडेल रहनु भएको छ । ओलीले सोमबार अपराह्न भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो । ओलीले तेस्रो पटक पार्टी हाँक्ने लक्ष्यसहित आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । दुई कार्यकाल अध्यक्ष भइसक्नु भएका ओलीले विधान संशोधन गराएर दुई कार्यकालको सीमितता सम्बन्धी प्रावधान र ७० वर्षे उमेरहदलाई खारेज गराउनु भएको थियो । पोखरेल भने १०औँ महाधिवेशनपछि वरिष्ठ उपाध्यक्ष पदमा रहँदै आउनु भएको छ । उहाँले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । काठमाडौँको भृकुटीमण्डपस्थित महाधिवेशनस्थित पुगेर पोखरेलले सोमबार अपराह्न उम्मेदवारी दिएका हुन्। सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउन आफू अध्यक्ष पदको उम्मेदवार बनेको बताउनुभयो। पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनःव्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । पार्टीलाई सहि ढंगले सञ्चालन गर्न आफूले उम्मेदवारी दिएको उहाँले बताउनु भएकोछ । निर्वाचन कार्यक्रमअनुसार, आज उम्मेदवारी दर्ता हुनेछ। आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ भने भोलि मध्यान्न १२ बजेदेखि मतदान हुनेछ।