हाम्रो पेज

काठमाडौं, ४ आश्विन । नेपाल प्रिमियर लिग एनपीएलको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले शनिबार तेस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार पहिलो खेलमा आगामी कात्तिक ९ गते साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् । कात्तिक २९ गतेसम्म लिग चरणका खेलहरु हुनेछ । मंसिर एक गते पहिलो क्वालिफायर खेल हुनेछ भने २ गते इलिमिनेटर हुनेछ । तालिका अनुसार ३ गते दोस्रो क्वालिफायर र मंसिर ५ गते फाइनल हुनेछ । सबै खेलहरु कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने क्यानले जनाएको छ । एनपीएलका ३२ खेलमध्ये फाइनलसहित २० खेल फ्लडलाइटमा खेलाइनेछ । दोस्रो संस्करणको एनपीएलको उपाधि लुम्बिनी लायन्सले जितेको थियो ।
एनपीएलमा डीआरएस प्रयोग हुने सम्भावना
तालिका आउनु अघि विभिन्न टोलीले विदेशी खेलाडीहरू अनुबन्ध पनि गरिरहेका छन् । हालसम्म काठनान्डु गोर्खाजले एनपीएल इतिहासकै सबैभन्दा ठूलो अनुबन्ध पूरा गर्दै डेभिड वार्नरलाई भित्र्याइसकेको छ । यस्तै जिमी नीशम, शाकिब अल हसन, सिकन्दर राजा, चरिथ असलंकाजस्ता वर्तमान खेलाडीहरू पनि एनपीएल खेल्न आउने पक्का भइसकेको छ । विदेशी खेलाडीहरू अनुबन्ध भइरहँदा एनपीएलको चर्चा त बढेको छ नै, त्यति नै उत्साह समर्थकहरूमा पनि बढिरहेको छ । अझ एनपीएलले आईसीसीबाट मान्यता पाउने र यसपटक एनपीएलमा डीआरएस प्रविधिको प्रयोग हुने कुरा पनि चर्चाका विषयहरू बन्दै आएका छन् । यसैबीचमा क्यानका सचिव पारस खड्काले एनपीएलमा पहिलोपटक डीआरएस ल्याउने पहल भइरहेको बताउनु भएको छ ।