search logo
NOTIFICATIONS

विराटनगर ४ स्थित स्वास्थ्य चौकी स्थानान्तरण बहस: स्थानीय भन्छन् स्वास्थ्य चौकी खेतमा होइन, चौबाटोमा हुनुपर्छ

हाम्रो पेज

३० भाद्र २०८३, मंगलवार १९:२५
विराटनगर–४ मा तल्ला थप गरिएको खेत क्षेत्रको सामुदायिक भवन, जहाँ आधारभूत स्वास्थ्य चौकी सार्ने तयारी भइरहेको छ।
विराटनगर, ३० भदौ । सरकारी स्वास्थ्य संस्था निर्माण भएपछि प्रश्न उठ्नुपर्ने भवन कस्तो बन्यो भन्ने होइन, त्यहाँ पुगेर सेवाग्राहीले सेवा लिन कति सजिलो छ भन्ने हो। तर, विराटनगर महानगरपालिका–४ मा निर्माण गरिएको आधारभूत स्वास्थ्य चौकीको प्रस्तावित स्थानले यही प्रश्नलाई बहसमा ल्याएको छ।

बाक्लो बस्तीबाट टाढा, खेततर्फ रहेको सामुदायिक भवनको तल्लो तलालाई स्वास्थ्य चौकीका रूपमा प्रयोग गर्ने तयारी भइरहँदा स्थानीयले स्वास्थ्य संस्था राख्ने स्थान नै उपयुक्त नभएको गुनासो गर्न थालेका छन्। उनीहरूको तर्क छ-स्वास्थ्य चौकी खेतको बीचमा होइन, मानिसको पहुँच पुग्ने चौबाटोमा हुनुपर्छ। वडा नम्बर ४ विराटनगर महानगरपालिकाका १९ वडामध्ये भौगोलिक रूपमा ठूलो वडा हो। वडाको पूर्वी तथा दक्षिण–पूर्वी र उत्तर–पूर्वी क्षेत्रमा बाक्लो बस्ती छ। ती क्षेत्रमा आर्थिक रूपमा कमजोर, सुकुम्बासी तथा दैनिक ज्यालादारीमा निर्भर परिवारको उल्लेख्य बसोबास छ। प्रस्तावित स्वास्थ्य चौकी भने ती बस्तीबाट पश्चिमतर्फ, सुनसरीको सीमाना नजिक पर्ने क्षेत्रमा छ।

स्थानीयका अनुसार सामान्य स्वास्थ्य समस्या, बालबालिकाको उपचार, ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य जाँच तथा गर्भवती महिलाले सेवा लिनसमेत स्वास्थ्य संस्था सहज पहुँचमा हुनुपर्छ। विपन्न परिवारका लागि टाढा रहेको स्वास्थ्य चौकीसम्म पुग्न लाग्ने समय र यातायात खर्च पनि बाधक बन्न सक्छ। स्थानीय यादव ओझा भन्नुहुन्छ, ”स्वास्थ्य चौकी त्यस्तो ठाउँमा हुनुपर्छ, जहाँ पैदल तथा सार्वजनिक यातायातबाट सहज रूपमा पुग्न सकियोस्।” उहाँका अनुसार अहिले प्रस्तावित स्थानमा स्वास्थ्य चौकी सारिए वडाको ठूलो हिस्सा सेवाबाट टाढा पर्न सक्छ।
‘यातायातको सुविधा नभएको र सेवाग्राहीलाई नै पुग्न असहज हुने ठाउँमा सरकारी सेवा राखेर के अर्थ हुन्छ ?’ ओझाले भन्भनुभयो, ‘कञ्चनबारीको पश्चिमतर्फको आसपासमा स्वास्थ्य संस्था राखिए धेरै नागरिकका लागि सहज हुन्छ।’

स्थानीयस्तरमा वडा कार्यालय नयाँ भवनमा सरेपछि खाली हुने पुरानो वडा कार्यालय भवनलाई आधारभूत स्वास्थ्य चौकीका रूपमा प्रयोग गर्न सकिने विकल्पसमेत चर्चामा आएको छ। उक्त भवन बाक्लो बस्ती, बजार र यातायातको पहुँच भएको क्षेत्रमा रहेकाले दक्षिण तथा उत्तरतर्फका विपन्न बस्तीका नागरिकलाई समेत सेवा लिन सहज हुने स्थानीयको भनाइ छ। भवन बनिसकेको छ भन्दैमा स्वास्थ्य चौकी त्यहीँ राख्नैपर्छ भन्ने बाध्यता हुन नहुने स्थानीयको तर्क छ। उनीहरूका अनुसार सरकारी लगानीमा बनेको संरचना अन्य प्रयोजनमा उपयोग गर्न सकिन्छ भने स्वास्थ्य चौकीलाई नागरिकको पहुँच भएको ठाउँमा राख्न सकिन्छ।

२०७३ सालदेखि वडा नम्बर ४ मा स्वास्थ्य चौकी भाडाको घरबाट सञ्चालन हुँदै आएको छ। अहिले सामुदायिक भवनमा स्वास्थ्य चौकी सार्ने तयारी भइरहेको हो। सरकारी लगानीमा निर्माण गरिएको सामुदायिक भवनको माथिल्लो तला स्थानीय युवा क्लबलाई दिइएको छ भने तल्लो तला स्वास्थ्य चौकीका लागि खाली राखिएको छ। वडा सदस्य रञ्जित गिरीका अनुसार पूर्वशिक्षक प्रताप चौधरीले दान गरेको जग्गामा सामुदायिक भवन निर्माण गरिएको हो। समुदायसँग भएको सम्झौताअनुसार भवनमा तला थप गरी स्वास्थ्य चौकी राख्ने योजना बनाइएको उहाँको भनाइ छ। ‘समुदायसँग स्वास्थ्य चौकी राख्ने सहमति भएकै आधारमा तला थपिएको हो,’ गिरीले भन्नुभयो, ‘तर महानगरपालिकाले चाहे स्वास्थ्य चौकीका लागि सेवाग्राहीलाई पायक पर्ने ठाउँमा छुट्टै भवन बनाउन सक्छ।’

सामुदायिक भवनमा वडा र प्रदेश सरकारको लगानीसमेत भएको छ। वडा अध्यक्ष जितन थापाका अनुसार भवनमा वडाको ९ लाख र प्रदेश सरकारको २० लाख रुपैयाँ लगानीमा तला थप गरिएको हो। भवन आसपासका बासिन्दाले पनि स्वास्थ्य चौकी त्यहीँ सार्नुपर्ने सुझाव दिएको उहाँले बताउनुभयो । तर, चौकीको स्थानलाई लिएर उठेको प्रश्नलाई भने वडा नेतृत्वले पनि पूर्ण रूपमा बेवास्ता गरेको छैन। थापाका अनुसार धेरै स्थानीयले यातायातको सुविधा भएको चौबाटो क्षेत्रमा स्वास्थ्य चौकी राख्न सुझाव दिएका छन्। ‘धेरैजसोले यातायातको सुविधा हुने चौबाटोमा चौकी सार्न सुझाव दिएका छन्,’ थापाले भन्नुभयो, ‘महानगरपालिकासँग समन्वय गरेर उपयुक्त निर्णयमा पुग्छौं।’

महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीप यादव पनि स्वास्थ्य चौकी सबैलाई पायक पर्ने र सेवाग्राहीलाई सहज हुने ठाउँमा हुनुपर्ने बताउँछन्। स्वास्थ्य चौकी कहाँ राख्ने भन्ने विषयमा जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहने र वडा तहबाट हुने निर्णयअनुसार अघि बढ्ने उहाँले बताउनुभयो । स्वास्थ्य चौकीको स्थानबारे उठेको विवाद केवल एउटा भवन कहाँ प्रयोग गर्ने भन्ने विषयमा सीमित छैन। यो सरकारी पूर्वाधार निर्माणको प्राथमिकता र सार्वजनिक सेवाको पहुँचबीचको सम्बन्धसँग जोडिएको प्रश्न हो। सरकारले भवन बनाउन लगानी गर्छ। तर, भवन बनेपछि त्यहाँ पुग्न सेवाग्राहीलाई घण्टौं हिँड्नुपर्छ वा यातायातको अतिरिक्त खर्च गर्नुपर्छ भने भवनको भौतिक उपलब्धिले मात्रै स्वास्थ्य सेवा प्रभावकारी भएको मान्न सकिँदैन।
वडा नम्बर ४ को अहिलेको बहसले यही कुरा देखाएको छ-स्वास्थ्य चौकीको मूल्य भवनको आकारले होइन, त्यहाँसम्म बिरामी कति सहज रूपमा पुग्न सक्छन् भन्ने कुराले निर्धारण गर्छ। त्यसैले स्थानीयको प्रश्न पनि स्पष्ट छ, ‘स्वास्थ्य चौकी खेतमा राख्ने कि नागरिक भेटिने चौबाटोमा ?’