हाम्रो पेज
विराटनगर, २० भाद्र । विराटनगरको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको श्रीराधाकृष्ण रथयात्राका क्रममा प्रसादस्वरूप खीर वितरण गर्दै आएको शनिहाट समाजलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ।
रथयात्राका अवसरमा शनिहाट समाजले भक्तजनहरूलाई खीर प्रसाद वितरण गर्नुका साथै कार्यक्रम सम्पन्न भएलगत्तै त्यसबाट उत्पन्न फोहोर तत्काल व्यवस्थापन गरेको भन्दै महानगरपालिकाले सम्मान गरेको हो।

विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापन महाशाखाका प्रमुख पुनमकुमार दाहालका अनुसार धार्मिक तथा सामाजिक कार्यक्रमपछि सरसफाइलाई प्राथमिकता दिँदै फोहोर व्यवस्थापनमा देखाएको सक्रियता र जिम्मेवारीपूर्ण भूमिकाको कदरस्वरूप शनिहाट समाजलाई सम्मान गरिएको हो।

शनिहाट समाजले विगतका वर्षहरूझैं यसवर्ष पनि रथयात्रामा सहभागी हजारौं श्रद्धालुहरूलाई खीर प्रसाद वितरण गरेको थियो। प्रसाद वितरणपछि संकलित फोहोर तत्काल व्यवस्थापन गरी वातावरणीय स्वच्छता कायम राख्न समाजले खेलेको भूमिका अनुकरणीय रहेको दाहालले बताउनुभयो ।