हाम्रो पेज
विराटनगर, ३ भाद्र। नेपाली कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। कांग्रेस संसदीय दलको बैठक जारी रहेकै अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेशसभा सचिवालयमा पत्र पठाइएको प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार कांग्रेसले अब प्रदेशसभामा विपक्षी बेञ्चमा बस्ने जानकारी पनि गराएको छ। कोशी प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा कांग्रेस सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमाथि राजनीतिक दबाब बढेको छ।
मुख्यमन्त्री कार्कीले सरकारलाई विश्वासको मत दिन कांग्रेसलाई आग्रह गरेका थिए। तर, कांग्रेस संसदीय दलले भने विश्वासको मत दिनुको सट्टा सरकारलाई दिएको समर्थन नै फिर्ता लिने निर्णय गरेको हो। यसअघि कांग्रेस र एमालेबीचको सत्ता सहकार्यअनुसार कांग्रेस सरकारमा सहभागी थियो । अब मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आउनेछ। प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत नरहेकाले नयाँ सत्ता समीकरण निर्माणका लागि दलहरूबीच पुनः छलफल र जोडघटाउ सुरु हुने देखिएको छ।
मुख्यमन्त्री कार्कीले भदौ ५ गते विश्वासको मत लिने तयारी
यसैबीच कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले भदौ ५ गते शुक्रबार विश्वासको मत लिने तयारी गर्नुभएको छ । मुख्यमन्त्री निकट नेकपा एमालेका सांसद रेवतिरमण भण्डारीले शुक्रबार विश्वासको मत लिने गरी तयारी भइरहेको जानकारी दिनु भएको छ । सांसद भण्डारीका अनुसार सत्ता साझेदार दल फेरिएकाले मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो । सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले पनि आफूले चाँडै विश्वासको मत लिने बताउनु भएको थियो । मुख्यमन्त्री कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त हुनु भएको हो । गएको साउन ९ गते भएको एमाले र नेकपाबीच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार नेकपा सोमबार कोशी प्रदेश सरकारमा सहभागी भइसकेको छ ।