उपाधिको खुसी र नायकको पीडा, यु १६ इस्ट जोन च्यापियनलाई ५० हजार

हाम्रो पेज

२७ असार २०८२, शुक्रबार १३:३०

काठमाडौं, २७ अषाढ । एकातिर देशले एसीसी यु १६ इस्ट जोन कपको उपाधि लगातार दोस्रो पटक जितेको खुसियाली मनाइरहेको छ र नेपाल क्रिकेट संघ क्यानले खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको छ। अर्कोतिर, त्यही उपाधि दिलाउने एक नायक, सुशील रावल, सम्मानको खादा र प्रमाणपत्रको बोझभन्दा आफ्नो क्रिकेट भविष्य सुरक्षित गर्न आर्थिक सहयोगको लागि मार्मिक अपिल गरिरहेका छन्। नेपाली युवा टोलीले मलेसियामा सम्पन्न फाइनलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै आफ्नो उपाधि रक्षा गरेको हो। सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य भेट्याउन नेपालले ८ विकेट गुमाउनुपरे पनि अन्ततः २९ ओभरमा लक्ष्य पूरा गर्‍यो। यो जितसँगै क्यानले विजेता टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेर खेलाडीको हौसला बढाएको छ।

अर्काेतर्फ प्रतियोगितामा नेपाललाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका बझाङका सुशील रावल अहिले कञ्चनपुरमा बसेर आफ्नो क्रिकेट सपना पूरा गर्न संघर्षरत छन्। देशको नाम उँचो बनाएबापत उनलाई सम्मानको ओइरो लागेको छ, तर उनको वास्तविक आवश्यकता फरक छ। “स्वागत र सम्मानमा मलाई प्रमाणपत्र र माला होइन, अहिले आर्थिक सहयोग चाहिएको छ,” सुशीलले आफ्नो पीडा पोख्दै सामाजिक संजालमार्फत भनेका छन् । अब हुने यु १९ राष्ट्रिय टोलीको छनोटका लागि उनलाई भारतमा विशेष प्रशिक्षण लिनु छ, जसका लागि करिब १ लाख रुपैयाँ आवश्यक पर्छ। तर, उनको कमजोर आर्थिक अवस्थाले यो सपनामाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ। “आर्थिक अवस्था कमजोर छ भन्दा मलाई लाज छैन,” उनी भन्छन्, “तर अब सहयोगबिना यो यात्रा सम्भव छैन। त्यसैले मलाई खादा र माला होइन, आर्थिक सहयोग दिनुहोला।”