search logo
NOTIFICATIONS

मोरङ जेलमा बिहान सबेरैदेखि प्रहरीको खानतलासी, नाराबाजीसहित विरोधमा उत्रिए कैदीबन्दी

हाम्रो पेज

१ भाद्र २०८३, सोमबार १२:१२
मोरङ कारागारभित्र प्रहरीको सर्च अपरेसन, कैदीद्वारा नाराबाजी

विराटनगर, १ भाद्र । जिल्ला कारागार मोरङका कैदीबन्दीले प्रदर्शन गरेका छन् । प्रहरीले कारागारभित्र खानतलासी सुरु गरेपछि कैदीबन्दीले छतमा बसेर प्रदर्शन गरेका हुन् । विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा सोमबार बिहान करिब ५ बजेबाट प्रहरीले खानतलासी सुरु गरेको थियो ।कारागार प्रशासनले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरेको छ । विभिन्न ब्लक तथा कक्षहरूमा सुरक्षाकर्मी पुगेर खानतलासी गरिरहेका छन् ।
कारागारभित्र गाँजासहित लागुपदार्थको समेत कारोबार र प्रयोग हुन थालेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सर्च अभियान चलाइएको कारागार प्रशासनले जनाएको छ । एसपी कवित कटवालले खानतलासी नियमित भएको बताए । ‘कारागारमा बेला–बेला खानतलासी र सर्च गर्ने गरिएको छ । अहिले त्यसैलाई निरन्तरता दिइएको हो । यो नियमित प्रक्रिया हो,’ उहाँले भन्नुभयो । कारागारमा खानतलासी सुरु भएसँगै बी ब्लकका कैदीबन्दी आन्दोलित भएका छन् । खानतलासीसँगै कैदीबन्दीको स्थानान्तरण गर्ने तयारी भइरहेको बुझेपछि त्यसको विरोधमा उनीहरू प्रदर्शन र नाराबाजीमा उत्रिएका हुन् । उनीहरू कारागारभित्रै आगो बालेर विरोधमा उत्रिएका थिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली कारागार गएको थियो । प्रशासनले कारागारको खानतलासी सँगै विवादास्पद छविका अभिषेक गिरीका सहयोगीलाई कारागारबाट स्थान्तरण गर्ने तयारी गरेको थियो । तर प्रहरीको टोलीले खानतलासी सुरु गरेपछि ब्लक ’बी’ का कैदीबन्दीले प्रहरीलाई अवरोध गर्दै प्रदर्शन गरेका हुन् । प्रशासनले बारम्बार दुस्ख दिइरहेको आरोप कैदीबन्दीले लगाएका छन् ।