हाम्रो पेज
विराटनगर, ३१ साउन । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका कराँते खेलाडीहरुलाई बेल्ट र प्रमाणपत्र वितरण गरिएको छ । हरेक तीन महिनाको प्रशिक्षण पछि हुने ग्रेडिङ अनुसार आज तीस जना विद्यार्थी खेलाडीलाई बेल्ट र प्रमाणपत्र प्रदान गरिएको विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताउनुभयो ।
विद्यालयका कराँते प्रशिक्षक रहेका राष्ट्रिय खेलाडी एवम् राष्ट्रिय प्रशिक्षक विवेक थापाका अनुसार सात जना खेलाडीलाई ग्रीन बेल्ट र प्रमाण पत्र प्रदान गरिएको हो भने २३ जना विद्यार्थीलाई ओरेन्ज बेल्ट र प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले कराँते व्यक्ति स्वयंको लागि समेत आवश्यकता रहेको चर्चा गर्दै आत्मरक्षा महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सबै खेलकुदका गतिविधिको आफ्नै महत्व हुने भन्दै यद्यपी कराँतेका विभिन्न विधाबाट नेपालले आफ्नो पहिचान अन्तर्राष्ट्रिय स्तरमा समेत राख्दै आएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कराँते महासंघका केन्द्रीय सदस्य धर्म न्यौपानेले खेलकुदले अनुशासन सिकाउने, सामुहिकताको विकास गराउने र व्यक्तिको स्वास्थ्यलाई समेत सकारात्मक भूमिका खेल्ने चर्चा गर्दै निरन्तरता दिन आग्रह गर्नुभयो । ‘सक्दा राष्ट्रलाई नसक्दा पनि स्वास्थ्यलाई’ भन्ने मूल मर्मका साथ पढाई सँगसँगै खेलकुदलाई अघि बढाउन उहाँले सुझाव दिनुभयो I कार्यक्रममा विद्यार्थी खेलाडीहरुले विभिन्न काता प्रस्तुत गरेका थिए I