हाम्रो पेज

विराटनगर, १९ श्रावण । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक एसपी कवित कटवाललाई प्रदेश प्रहरी कार्यालय कोशीले २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। व्यवसायी गोपाल मुदण्डाको घरमा प्रहरीले छापा हानेको विषयमा प्रदेश प्रहरी कार्यालयले एसपी कटवालसँग स्पष्टीकरण मागेको हो। छापा मार्नुको कारण, प्राप्त सूचना तथा त्यसलाई पुष्टि गर्ने आधार र प्रमाणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न भनिएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी योगेन्द्रसिंह थापाले पत्र काट्दै स्पष्टीकरण मागेका हुन्। व्यवसायी मुदण्डाको घरमा छापा मार्दा कुनै आपत्तिजनक वा शंकास्पद वस्तु फेला नपरेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङले यसअघि विज्ञप्तिमार्फत जानकारी गराएको थियो। सूचनाको पर्याप्त प्रमाणीकरण नगरी छापा मारिएको र त्यसबाट व्यवसायीलाई त्रसित बनाइएको भन्दै प्रहरीको आलोचना भएपछि प्रदेश प्रहरी कार्यालयले घटनाबारे स्पष्टीकरण मागेको हो। प्रदेश प्रहरी कार्यालयले छापा मार्नुपर्ने आधार के थियो, कस्तो सूचना प्राप्त भएको थियो र सो सूचनाका आधारमा कुनै प्रमाण वा अन्य सामग्री फेला परेको भए त्यसको विवरणसमेत खुलाएर जवाफ दिन निर्देशन दिएको छ।

प्रदेश प्रहरी कार्यालयले कटवालाई ९ बुँदे प्रश्नसहित स्पष्टीकरण मागेको हो । जिम्मेवारीमा लापरबाही, अधिकारको अनुचित प्रयोग, निर्णय प्रक्रियामा त्रुटि, व्यवसायिक आचरणजस्ता विषयमा प्रष्ट पार्न भन्दै भनिएकाके छ । मुन्दडाको घरमा प्रहरी परिचालन गर्ने निर्णय कुन सूचना वा विश्वसनीय गोप्य सूचनाको आधारमा गरेको भनी प्रश्न सोधिएको छ । त्यस्तै छापा मार्ने क्रममा ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपर्ने अपरिहार्य कारण के थियो भनेर जवाफ मागिएको छ । सोमबार बिहान एसपी कटुवालको नेतृत्वमा मुन्दडाको निवासमा ठूलो सङ्ख्यामा प्रहरीले घेरा हालेर करिब ५ घण्टा छापा मारेको थियो। अपराधीलाई जस्तो व्यवहार प्रहरीले व्यवसायीमाथि गरेको भन्दै उद्योगी व्यवसायीका संस्थाहरुले आपत्ति जनाएका छन्।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनाल भने आफै खटिएर यहाँका उद्योगीव्यवसायीहरुलाई आश्वास्त पार्न लागिपरेका छन् । डीआईजी खनालले उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गर्दै औद्योगिक सुरक्षा, सुरक्षा चुनौती तथा प्रहरी र निजी क्षेत्रबीचको समन्वय सुदृढ गर्ने विषयमा छलफल गरेका छन् । प्रदेश प्रहरी कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश उद्योग वाणिज्य संघका पदाधिकारी तथा उद्योगी–व्यवसायी सहभागी थिए। पछिल्लो घटनापछि व्यवसायी समुदायमा बढेको असन्तुष्टि र त्रास कम गर्ने उद्देश्यले यो संवाद आयोजना गरिएको हो । हिजोको घटनापछि उद्योगी–व्यवसायीले प्रहरी कारबाहीको शैलीप्रति असन्तुष्टि जनाएका थिए। पर्याप्त आधार र प्रक्रिया बिना ठूलो संख्यामा प्रहरी परिचालन गरिएको भन्दै निजी क्षेत्रले विरोध गरेको थियो । घटनाको आन्तरिक समीक्षा सुरु गरेसँगै प्रदेश प्रहरी नेतृत्व उद्योगी–व्यवसायीसँग सम्बन्ध सुधार्ने प्रयासमा समेत जुटेको देखिएको छ । डीआईजी खनालले उद्योगी–व्यवसायीसँगको छलफलमा सुरक्षा चुनौती सामना गर्न प्रहरी र निजी क्षेत्रबीच आपसी विश्वास, समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । यता आज प्रतिनिधि सभाको बैठकमा पनि विपक्षी दलका सांसदहरुले यो घटनाका बारेमा प्रश्न उठाएका छन् ।
