हाम्रो पेज

विराटनगर, १४ श्रावण । विराटनगरमा सद्भाव र्याली आयोजना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको हलमा आयोजना गरेको सर्वदलीय बैठकले सदियौंदेखि हिन्दू र मुस्लिम समुदायबीचको सामाजिक एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउने कार्य निन्दनीय भएको निष्कर्ष निकाल्दै शुक्रबार सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको हो । सुनसरीको देवानगन्ज गाउँपालिकास्थित कप्तानगन्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको विवादका कारण उत्पन्न पछिल्लो परिस्थितिलाई लिएर मोरङमा सर्वपक्षीय सद्भाव बैठक बसेको छ।
प्रमुख जिल्ला अधिकारी युवराज कटेलको आह्वानमा बसेको बैठकले घटनामा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, विराटनगर महानगरपालिकाका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको प्रभावकारी र शीघ्र उपचारका लागि अस्पताल प्रशासनसँग आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ। बैठकले उक्त दुखद् घटनालाई लिएर मोरङ जिल्लामा कुनै पनि किसिमको धार्मिक सद्भाव भड्कन नदिन सम्पूर्ण पक्षले जिम्मेवार भूमिका निर्वाह गर्ने सहमति गरेको छ। सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न समन्वय र सहजीकरण गर्ने उद्देश्यले श्रावण १५ गते दिउँसो ३ बजे विराटनगरमा बृहत् सद्भाव र्यालीको आयोजना गरिने भएको छ। विराटनगरको महेन्द्र चोकमा भेला भई सुरु हुने उक्त र्याली ट्राफिक चोक, पञ्चमुखी हनुमान मन्दिर, वडा प्रहरी कार्यालय क हुँदै जिल्ला प्रशासन कार्यालय मोरङ अगाडिको डाँफे चोकसम्म पुग्नेछ। उक्त र्यालीमा राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संस्था, व्यवसायी, युवा र आम सर्वसाधारणलाई सहभागी हुन आह्वान गरिएको छ।
जिल्लास्थित सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संघ संस्था, सञ्चारकर्मी, व्यावसायिक वर्ग, युवा तथा आम नागरिकलाई धार्मिक, जातीय वा साम्प्रदायिक भावनामा ठेस पुग्ने, द्वेष फैलाउने र हिंसा भड्काउने खालका अभिव्यक्ति नदिन अपिल गरिएको छ। साथै, यस्ता विषयसँग सम्बन्धित कुनै पनि भ्रमपूर्ण सामग्री सामाजिक सञ्जालमा पोष्ट तथा शेयर नगर्नसमेत आग्रह गरिएको छ।

शान्ति सुरक्षा र धार्मिक सद्भावमा खलल पुर्याउने गैरकानूनी क्रियाकलाप गरेमा वा भएमा कानूनी कारबाहीका लागि सबै पक्षले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिनुभयो ।सामाजिक सद्भाव बिथोलिने सम्भावित घटना, सूचना वा अवस्था देखिएमा तुरुन्तै प्रहरी र प्रशासनलाई सूचना दिएर समन्वय गर्न सबैलाई भनिएको उहाँले बताउनुभयो ।