राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

हाम्रो पेज

२६ असार २०८३, शुक्रबार १२:२७

काठमाडौं, २६ असार । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका गणेश नेपालीको निधन भएको छ। वीर अस्पतालमा उपचाररत उनको आज शुक्रबार बिहान साढे ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिनुभयो । राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका नेपालीलाई बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उनको शरीर ५५ प्रतिशत जलेको थियो। यसबिच उनलाई थप उपचारका लागि भारत लाने तयारी पनि गरिएको थियो। तर स्वास्थ्य अवस्था अस्थिर भएपछि अन्तिम समयमा स्थगन गरिएको थियो।

यसअघि अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकारी गराएको थियो । अस्पतालका चिकित्सकहरूले उनको अवस्थाका बारेमा निश्चित रूपमा केही भन्न नसकिने र जुनसुकै बेला पनि अवस्था बिग्रन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।नेपालीको शरीरको ५५ प्रतिशत भाग जलेको थियो । आगोले अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुर्‍याएकाले उनलाई बचाउन निकै चुनौतीपूर्ण रहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनलाई वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’ मा भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो ।

नेपालीको उपचारका लागि वीर अस्पतालले प्लास्टिक सर्जरी विभागका संयोजक डा। पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेष टोली परिचालन गरेको थियो । उक्त टोलीमा युनिट प्रमुख डा। अपार लामिछाने, क्रिटिकल केयरका डा। निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्राडा रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू संलग्न थिए ।बिरामीको अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी समेत गरिएको थियो । तर, स्वास्थ्य अवस्था स्थिर नभएका कारण उनलाई स्थानान्तरण गर्न सम्भव नभएको अस्पतालले जनाएको थियो । चिकित्सकहरूको अथक प्रयासका बाबजुद अन्ततः उपचारकै क्रममा उनको निधन भएको हो ।

कामको सिलसिलामा मुगुबाट काठमाडौँ आएका गणेशका दाजु मदनले काठमाडौँ महानगरको प्रहरीले अनावश्यक दुःख दिँदा घटना भएको आरोप लगाएका छन्। स्थानीय प्रत्यक्षदर्शीले पनि गणेशले यात्रु ओराल्न रोकेको मोटरसाइकलमा महानगर प्रहरीले ‘ह्विल लक’ गरेपछि उनी आवेशमा आएर आफ्नै जिउमा आगो लगाएको बताएका छन्। त्यस क्रममा महानगर प्रहरीसँग गणेशको केहीबेर भनाभनसमेत भएको थियो। सार्वजनिक भएका कतिपय भिडिओमा उनी रोकिराखेको मोटरसाइकमा बसेर महिला प्रहरीसँग पनि विवाद गरिरहेको देखिन्छ। बिहीबार जिउमा आगो लगाएका गणेशले यही असार १३ पनि ‘ट्राफिक प्रहरीले दुःख दिएको’ भन्दै गाउँका भतिज पर्नेलाई म्यासेज पठाएका थिए। जसमा उनले ‘हिजो म सामान लिन गएको समयमा नगर पुलिसले ताला लगाइदियो यार। १००० तिर्नुपर्ने भो’, भनेर लेखेका छन्। उनले म्यासेजको अन्तिममा दुईवटा रोइरहेको इमोजी पनि राखेका छन्। गणेशका दाजु मदनले आर्थिक समस्यासँगै बारम्बार जरिवाना तिर्नुपर्ने अवस्थाले भाइमा मानसिक तनाव बढेको हुनसक्ने बताएका छन्। गणेश वैदेशिक रोजगारीका लागि दुबई जाने प्रक्रियामा थिए।