search logo
NOTIFICATIONS

गृहमन्त्रीसँग खुल्यो तस्करीको पोल,दुई डीएसपीसहित ११ प्रहरी छानबिनमा, मोबाइलसमेत नियन्त्रणमा

हाम्रो पेज

२३ असार २०८३, मंगलवार १८:३१
जब गृहमन्त्री सुधन गुरुङलाई नै सीमाबाट तस्करीको सुचना आयो

 

झापा २३ असार । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा नाका र मेची भन्सार कार्यालयको स्थलगत निरीक्षणका क्रममा तस्करीबारे स्थानीयबाट प्रत्यक्ष गुनासो सुनेपछि सीमा क्षेत्रमा कार्यरत प्रहरीमाथि व्यापक अनुसन्धान सुरु भएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा दुई जना डीएसपीसहित ११ जना प्रहरी कर्मचारी छानबिनको दायरामा परेका छन्।प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईं र बोर्डर आउट पोस्ट बीओपी काँकडभिट्टाका डीएसपी विकास थापासहित ११ जनाको मोबाइल अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। ती मोबाइल डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको स्रोतले जनाएको छ।

अनुसन्धानमा नेपाल प्रहरीका पाँच र सशस्त्र प्रहरी बलका छ जना गरी ११ जना प्रहरी कर्मचारी परेका छन्। उनीहरूमाथि झापाका विभिन्न सीमा नाकाबाट हुने तस्करीमा संलग्न गिरोहसँग मिलेमतो गरी अवैध गतिविधिलाई संरक्षण दिएको तथा आर्थिक लाभ लिएको आरोपमा छानबिन भइरहेको छ।अनुसन्धानको दायरामा सादा पोशाकमा खटिने प्रहरीसमेत रहेका छन्। उनीहरूलाई मुख्यालयमा बोलाएर बयान, मोबाइल परीक्षण तथा अन्य प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतको भनाइ छ। यसअघि नै सशस्त्र प्रहरी बल मुख्यालयले झापामा कार्यरत तीन जना घुमुवा सशस्त्र प्रहरीलाई काठमाडौं बोलाएर आन्तरिक छानबिन सुरु गरिसकेको थियो। उनीहरूमाथि सीमा क्षेत्रमा सक्रिय तस्कर समूहसँग साँठगाँठ गरी अवैध असुली गरेको आरोप लागेको छ।

छानबिनमा परेकामध्ये सशस्त्र प्रहरीको पकलीस्थित पूर्व क्षेत्रीय अस्पतालमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक ९सई० गणेश खड्का, झापास्थित ३८ नम्बर रिजर्भ गणका हवल्दार हरि मगर, सुनसरीस्थित ४ नम्बर गणका जवान पारस यादव, वरिष्ठ हवल्दार श्याम चौधरी र सहायक हवल्दार नारायण खनाल रहेका छन्। सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार उनीहरूलाई असार १० गते काठमाडौं बोलाएर आन्तरिक अनुसन्धान सुरु गरिएको हो। तस्कर समूहसँग मिलेमतो गरी आर्थिक लाभ लिएको लगायतका उजुरी परेपछि अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो। प्रहरी स्रोतका अनुसार पछिल्लो समय सई खड्काले कोशी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी मनीष थापाको घुमुवा बनेर सीमा क्षेत्रमा सक्रिय तस्कर समूहसँग असुली गर्ने गरेको आरोप लागेको छ। हवल्दार मगर र जवान यादवलाई पनि सोही नेटवर्कमार्फत परिचालन गरिएको भन्दै मुख्यालयमा उजुरी परेको थियो।

स्थानीय महिलाको गुनासोपछि गृहमन्त्रीको तत्काल कदम

आइतबार काँकडभिट्टा सीमा नाका र मेची भन्सार कार्यालयको निरीक्षणका क्रममा स्थानीय व्यवसायी बन्दना मेचेले गृहमन्त्री गुरुङसमक्ष सीमा क्षेत्रमा प्रहरीकै मिलेमतोमा खुला तस्करी भइरहेको गुनासो गरेकी थिइन्। उनले गृहमन्त्रीसँग भनिन्, रात परेपछि काँकडभिट्टा नाकाका विभिन्न स्थानबाट खुला तस्करी हुन्छ। यहाँ फलानाको लाइन, ढिस्कानाको लाइन भनेर छुट्टाछुट्टै सेटिङ चलेको छ। म सार्वजनिक रूपमा सबै भन्न सक्दिनँ सर। त्यसपछि गृहमन्त्री गुरुङले मेची भन्सार कार्यालयभित्र छुट्टै कोठामा ती महिलासँग विस्तृत जानकारी लिनु भएको थियो । गुनासो सुन्ने क्रममा उहाँले प्रमुख जिल्ला अधिकारी, भन्सार प्रमुख र अन्य सुरक्षा अधिकारीलाई समेत बाहिर राखेर महिलासँग एक्लै छलफल गर्नुभएको थियो । त्यसपछि डीएसपी चापागाईंको मोबाइल नियन्त्रणमा लिएर अनुसन्धानका लागि पठाइएको स्रोतको दाबी छ। यद्यपि डीएसपी चापागाईंले भने आफ्नो मोबाइल नियन्त्रणमा लिइएको दाबी अस्वीकार गर्नुभएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी विनोद घिमिरेले गृहमन्त्रीको निरीक्षणका क्रममा तस्करीसम्बन्धी विभिन्न गुनासा आएको पुष्टि गर्दै ती विषयमा विस्तृत अनुसन्धान सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, केही गुनासाहरू आएका छन्। ती सबै विषयमा अनुसन्धान हुनेछ। सामान ओसारपसारमा संलग्न व्यक्तिहरूबाट पनि जानकारी आएको छ। दोषी देखिए कानुनी कारबाही हुन्छ भन्ने गृहमन्त्रीज्यूको निर्देशन छ।जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख एसपी बसुन्धरा खड्काले पनि अनुगमनका क्रममा प्राप्त गुनासालाई गम्भीर रूपमा लिएर आन्तरिक छानबिन सुरु गरिएको जानकारी दिनुभयो ।

सीमा सुरक्षा, तस्करी नियन्त्रण र हात्ती समस्याप्रति गृहमन्त्रीको विशेष चासो

आइतबार राति झापा पुग्नु भर्एका गृहमन्त्री गुरुङले अर्जुनधारा–११ स्थित सालबारी हेरिटेज भिल्लामा जिल्ला सुरक्षा समितिसँग सुरक्षा अवस्थाबारे समीक्षा गर्नुभएको थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, एसपी बसुन्धरा खड्का, सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी तथा राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख उमेश पाण्डेको सहभागिता रहेको थियो । बैठकमा सीमा व्यवस्थापन, तस्करी नियन्त्रण, लागुऔषध ओसारपसार, मानव बेचबिखन तथा अन्य सुरक्षा चुनौतीबारे छलफल भएको थियो। सोमबार बिहान गृहमन्त्री गुरुङले मेचीनगर–७ स्थित जोरसिमल चेकपोस्ट, काँकडभिट्टा सीमा नाका र मेची भन्सार कार्यालयको निरीक्षण गर्दै सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन सुरक्षा निकायलाई आवश्यक निर्देशन दिनु भएको थियो ।

त्यसअघि उहाँ मेचीनगर–४ बाहुनडाँगी पुगेर वर्षौंदेखि स्थानीयलाई सताउँदै आएको जंगली हात्तीको समस्या अवलोकन गर्न पुग्नु भएको थियो । साथै बुद्धशान्ति गाउँपालिका–६ सन्तपुर पुगेर जनआन्दोलनका क्रममा घाइते भएका अनिकेत चौलागाईँको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिनु भएको थियो । गृहमन्त्रीले झापा–भारत सीमाबाट हुने चोरी–पैठारी, लागुऔषध तस्करी, मानव बेचबिखन, अवैध सीमा गतिविधि तथा सीमा सुरक्षामा देखिएका कमजोरीप्रति विशेष चासो व्यक्त गर्दै सम्बन्धित निकायलाई कडाइका साथ काम गर्न निर्देशन दिनु भएको छ । कोशी प्रदेशका मोरङ, सुनसरी, धनकुटा र झापाको स्थलगत निरीक्षण सम्पन्न गरेर गृहमन्त्री गुरुङ काठमाडौं फर्किसक्नु भएको छ ।