हाम्रो पेज
विराटनगर, १६ असार — मुहर्रम पर्व मनाउने क्रममा नक्कली हतियार बोकी सार्वजनिक रूपमा हिँडेर समाजमा त्रास फैलाएको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सामाजिक सञ्जालमा एक युवकले नक्कली हतियार बोकेर भीडभाडमा हिँडेको भिडियो भाइरल भएपछि अनुसन्धान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा विराटनगर महानगरपालिका–९ निवासी २३ वर्षीय मो. इजराइललाई बुधबार राति करिब २१ः४० बजे उनकै घरबाट उक्त नक्कली हतियारसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मुहर्रम पर्वका अवसरमा आम सर्वसाधारणलाई त्रसित तथा आतंकित बनाउने उद्देश्यले नक्कली हतियार बोकी हिँडेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका प्रहरी इकाइले खोजतलास तीव्र बनाएका थिए।पक्राउ परेका इजराइलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । प्रहरीले धार्मिक तथा सांस्कृतिक पर्व मनाउने क्रममा कानुनविपरीतका गतिविधि नगर्न तथा समाजमा भय, त्रास वा आतंक सिर्जना गर्ने कुनै पनि कार्य नगर्न सबैलाई आग्रह गरेको छ।
