search logo
NOTIFICATIONS

फिफा विश्वकप २०२६ः इजिप्टको ऐतिहासिक जित, स्पेनको गोल वर्षा र केपभर्डेको अर्को चमत्कार

हाम्रो पेज

८ असार २०८३, सोमबार १२:५४

फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका दोस्रो खेलहरूमा रोमाञ्चक नतिजा निस्किएका छन्। इजिप्टले विश्वकप इतिहासकै पहिलो जित दर्ता गर्दै नयाँ इतिहास रचेको छ भने स्पेनले साउदी अरेबियामाथि शानदार जित निकाल्दा नवप्रवेशी केपभर्डेले दुईपटकको विश्वविजेता उरुग्वेलाई बराबरीमा रोक्दै सबैको ध्यान खिचेको छ।

इजिप्टको ९२ वर्षे प्रतिक्षा अन्त्य

समूह ‘जी’ अन्तर्गत क्यानाडाको भ्यानकुभरस्थित बीसी प्लेस रंगशालामा भएको खेलमा इजिप्टले न्युजिल्यान्डलाई ३–१ ले पराजित गर्दै विश्वकप इतिहासमा आफ्नो पहिलो जित दर्ता गर्यो। खेलको पहिलो हाफमा फिन सुरम्यानको हेडर गोलमार्फत न्युजिल्यान्डले अग्रता बनाएको थियो। पहिलो हाफमा पछाडि परेको इजिप्ट दोस्रो हाफमा पूर्ण रूपमा फरक लयमा प्रस्तुत भयो। मोस्ताफा जिकोले बराबरी गोल फर्काएपछि स्टार खेलाडी मोहम्मद सलाहले अग्रता दिलाए। त्यसपछि वैकल्पिक खेलाडी ट्रेजेगेटले ८२औँ मिनेटमा गोल थप्दै इजिप्टको ऐतिहासिक जित सुनिश्चित गरे।सन् १९३४ मा पहिलोपटक विश्वकप खेलेको इजिप्टले ९२ वर्षको लामो प्रतिक्षा र नौ संस्करणको संघर्षपछि विश्वकपमा पहिलो जित हासिल गरेको हो। यस जितसँगै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ र नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ।

इरान र बेल्जियमको गोलरहित बराबरी

सोही समूहको अर्को खेलमा इरान र बेल्जियमले गोलरहित बराबरी खेल्दै अंक बाँडे। इरानका मेहेदी तोरबीले पहिलो हाफमा गोल गरे पनि भीएआरमार्फत अफसाइड ठहर भएपछि गोलले मान्यता पाएन। त्यसपछि बेल्जियमले निरन्तर दबाब सिर्जना गरे पनि इरानी गोलरक्षक अलिरेजा बेरानभान्ड उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई बचाए। खेलमा बेल्जियमका नाथन एनगोएले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। दोस्रो खेलपछि समूह ‘जी’ मा इजिप्ट शीर्ष स्थानमा छ भने इरान, बेल्जियम र न्युजिल्यान्ड नकआउट यात्राका लागि प्रतिस्पर्धामा रहेका छन्।

केपभर्डेको अर्को शानदार प्रदर्शन

समूह चरणको दोस्रो खेलमा विश्वकपको नवप्रवेशी केपभर्डेले दुईपटकको विश्वविजेता उरुग्वेलाई २–२ को बराबरीमा रोक्दै आफ्नो प्रभावशाली यात्रा जारी राख्यो। केपभर्डेका लागि केभिन पियानले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि उरुग्वेका मेक्सी अराजाओ र अगस्टिन क्यानोबिबोले लगातार गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। तर दोस्रो हाफको ६०औँ मिनेटमा हेलियो भरेलोले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए। विश्वकपमा पहिलो सहभागिता जनाएको केपभर्डेले यसअघि स्पेनसँग गोलरहित बराबरी खेलेको थियो। लगातार दोस्रो बराबरीसँगै उसले प्रतियोगितामा आफ्नो क्षमता प्रमाणित गरेको छ।

स्पेनको सानदार पुनरागमन

समूहको अर्को खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० को प्रभावशाली जित निकाल्दै प्रतियोगितामा पहिलो विजय हासिल गर्यो। खेलको १०औँ मिनेटमा युवा स्टार लमिन यमलले गोल गर्दै स्पेनलाई अग्रता दिलाए। त्यसपछि मिकेल ओयार्जाबालले दुई मिनेटको अन्तरमा दुई गोल थप्दै पहिलो हाफमै स्पेनलाई ३–० को बलियो स्थितिमा पुर्‍याए। दोस्रो हाफमा साउदी अरेबियाबाट आत्मघाती गोल भएपछि अन्तर ४–० पुग्यो। पहिलो खेलमा केपभर्डेसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले यो जितसँगै तालिकामा चार अंक जोड्दै शीर्ष स्थान कब्जा गरेको छ।

समूह चरण थप रोमाञ्चक बन्दै

दोस्रो चरणका खेलपछि समूह ‘जी’ मा इजिप्ट ऐतिहासिक जितसँगै शीर्ष स्थानमा पुगेको छ भने स्पेनले पनि प्रभावशाली जित निकाल्दै आफ्नो दाबेदारी बलियो बनाएको छ। उता नवप्रवेशी केपभर्डेले लगातार उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबलमा नयाँ शक्ति बन्ने संकेत दिएको छ। विश्वकप २०२६ को समूह चरण अब झन् रोमाञ्चक बनेको छ, जहाँ अन्तिम खेलहरूले नकआउट चरणमा पुग्ने टोलीहरूको भाग्य तय गर्नेछन्।