हाम्रो पेज

काठमाडौं, २४ अषाढ । चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा मंगलबार बिहानै उर्लिएको भीषण बाढीले रसुवा जिल्लामा अकल्पनीय क्षति पुर्याएको छ । बाढीका कारण २० जना सम्पर्कविहीन भएका छन् भने नेपाल चीन जोड्ने मितेरी पुल, रसुवागढी हाइड्रोपावर, भन्सार कार्यालय लगायतका महत्त्वपूर्ण भौतिक संरचनाहरूमा ठूलो नोक्सानी भएको छ । बाढीको प्रभावले त्रिशूली नदीको बहाव समेत बढेर धादिङसम्म असर पुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, तिब्बतबाट आएको बाढी मंगलबार बिहान ३ः३० बजे रसुवा स्याफ्रुबेँसी जलमापन केन्द्रमा आइपुगेको थियो । बिहान ५ बजेसम्ममा यो बाढी त्रिशूली नदीस्थित वेत्रावतीसम्म पुगेको थियो । बाढीले बिहान करिब ४ बजे रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ स्थित नेपाल चीन जोड्ने मितेरी पुललाई बगाएपछि रसुवागढी नाकामा सवारीसाधन र मानिसको आवतजावत पूर्ण रूपमा बन्द भएको छ ।

प्रमुख क्षतिहरू
मितेरी पुलः नेपाल चीन जोड्ने पुल पूर्ण रूपमा बगेको ।
रसुवागढी हाइड्रोपावरः निर्माणाधीन १ सय ११ मेगावाटको हाइड्रोपावरको ड्याममा क्षति पुगेको ।
भन्सार कार्यालयः भन्सार यार्डमा क्षति पुग्नुका साथै सुख्खा बन्दरगाहमा रहेका ७ वटा ईभी गाडी बगाएको ।
सडक अवरुद्धः गोसाइँकुण्ड ५ स्थित पासाङल्हामु सडकखण्ड चर्किएर धुन्चेदेखि टिमुरेसम्मको बाटो अवरुद्ध ।


बाढीमा परेर हालसम्म २० जना सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार सम्पर्कविहीन हुनेमा तीन प्रहरी, नौ नेपाली नागरिक र आठ चिनियाँ नागरिक रहेका छन् । इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारमा खटिएका तीन प्रहरी पनि सम्पर्कमा छैनन् । यसैबीच, सुरक्षाकर्मी र स्थानीयवासी गरी नौ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामा एक नेपाल प्रहरी, एक सशस्त्र प्रहरी र सात जना स्थानीय बासिन्दा रहेका छन् । स्याफ्रुबेसीका स्थानीय बुद्ध लामाले राति करिब साढे तीन बजे भूकम्प आएको ठानेर ब्युँझिएको तर बाहिर निस्कँदा भोटेकोसीले रौद्र रूप लिएको देखेको बताउनुभयो । घरै थर्किएपछि भूकम्प आयो भन्ने लाग्यो, बाहिर हेर्दा त भोटेकोशी असाध्यै ठूलो थियो । गाउँमा हल्लाखल्ल भयो, सबै आत्तियौं, उहाँले भन्नुभयो, खोलाले बाटो नै फेरेको छ, ढुंगाहरू बगाएर ल्याउँदा अहिले पनि घर थर्किरहेको छ । उहाँका अनुसार धेरै स्थानीयहरू घरको सामान बोकेर सुरक्षित स्थानतर्फ लागेका छन् र खोला किनारका संरचनाहरू अझै उच्च जोखिममा छन् । भोटेकोशीको बाढीको असर धादिङको त्रिशूली नदीमा पनि देखिएको छ । बेनिघाट रोराङ गाउँपालिका ७, चरौंदी नजिकै त्रिशूली किनारमा अन्त्येष्टि गरिँदै गरेको एक शवको चिता बाढीले बगाएको छ । गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाका अनुसार, बिहान साढे ९ बजेतिर त्रिशूलीमा अचानक पानीको सतह बढेपछि जलिरहेको शवको अवशेषसहित चिता नै बगाएको हो । उहाँले भन्नुभयो, शव लगभग जलिसकेको थियो, तर चिता बाँकी थियो । त्यही बेला बाढी आएर बगायो । हामी सबै सुरक्षित छौं ।

गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैशुङ नुर्पु तामाङले जोखिम अझै कायम रहेकोले स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, बाढीपहिरोका कारण राहत र उद्धारमा कठिनाइ भइरहेको छ । हामीले सबैलाई सतर्क रहन भनेका छौं । स्थानीय बुद्ध लामाले पनि सरकारी संयन्त्रको अभावमा ठूलो विपत्ति आइपरेको भए अवस्था भयावह हुने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । धन्न मानवीय क्षति धेरै भएन, नत्र यहाँको सानो प्रहरी पोस्टले के गर्न सक्थ्यो र बिजोग हुने रहेछ, उहाँले भन्नुभयो । अहिले पनि भोटेकोशी र त्रिशूली नदी किनारका बासिन्दाहरू त्रसित छन् र उद्धार तथा राहत कार्य जारी छ ।
