हाम्रो पेज

काठमाडौं ३ असार । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट आगामी साउन महिनादेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी तीव्र पारिएको छ। नेपालको बहुप्रतीक्षित सुरुङमार्ग आयोजना सञ्चालनमा आएपछि नौबिसे–नागढुङ्गा सडकखण्डको सवारी आवागमन थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ। नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार साउनभित्रै सुरुङमार्ग सञ्चालन गर्ने लक्ष्यसहित आन्तरिक तयारी भइरहेको छ। “सुरुङमार्गभित्रका अधिकांश काम सम्पन्न भइसकेका छन्। आकस्मिक घटना भएमा उद्धार तथा सवारी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा आवश्यक परीक्षण भइरहेको छ,” उनले भने, “सुरुङमार्ग बाहिरको पहिरो नियन्त्रणसम्बन्धी केही काम मात्र बाँकी छ।”
दुई हजार ६८८ मिटर लम्बाइको नागढुङ्गा–नौबिसे सुरुङमार्ग प्रारम्भिक सम्झौताअनुसार २६ अप्रिल २०२३ भित्र सम्पन्न हुनुपर्ने थियो। तर ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीय अवरोधका कारण निर्माण कार्य प्रभावित भएको थियो। हाल सुरुङ सञ्चालन र व्यवस्थापनसम्बन्धी अभ्यास जारी रहेको आयोजनाले जनाएको छ।आयोजनाका अनुसार सुरुङमार्ग प्रयोग शुल्क ९टोल० सङ्कलनका लागि बैंक छनोट तथा कार्ड छपाइको प्रक्रिया पनि अगाडि बढिसकेको छ। सवारी चालकले नगद, क्यूआर कोड स्क्यान वा सवारीमा जडान गरिने स्टिकरलाई उच्च क्षमताको क्यामेराबाट रिड गरी शुल्क तिर्न सक्ने व्यवस्था मिलाइएको छ।बोलपत्रमार्फत युसिन एआरटी कम्पनीले एक अर्ब १० करोड रुपैयाँ लागतमा पाँच वर्षका लागि सुरुङमार्ग सञ्चालन, व्यवस्थापन तथा मर्मतसम्भारको जिम्मेवारी पाएको छ।
सुरुङमार्ग प्रयोगबाट उठेको शुल्क व्यवस्थापक कम्पनीले सङ्कलन गरी सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्नेछ। उक्त बोलपत्रमा १० कम्पनीको आवेदन परेको थियो। सुरुङमार्ग वर्षभरि चौबिसै घण्टा सञ्चालन हुनेछ। “सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि १५० जनाभन्दा बढी जनशक्ति परिचालन हुनेछ,” निर्देशक नेपालले भने, “पूर्ण सञ्चालनमा आएपछि दिउँसोको व्यस्त समयमा एकैपटक ४० कर्मचारी खटिनेछन्।”हाल सुरुङभित्र आवश्यक तयारीका काम जारी छन्। असारभित्र सबै तयारी पूरा गरी साउनदेखि नियमित रूपमा सवारी सञ्चालन गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ।आयोजनाका अनुसार नागढुङ्गा–नौबिसे नाका हुँदै दैनिक औसतमा दुईपाङ्ग्रे बाहेक करिब आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्छन्। तीमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ। सुरुङमार्गमा भने दुईपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न पाइने छैन।

सुरुङमार्ग प्रयोग शुल्क कति लाग्छ ?
सरकारले विसं २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी नागढुङ्गा–नौबिसे सुरुङमार्गको शुल्क निर्धारण गरिसकेको छ। कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तोकिएको छ। मिनीबस तथा मिनी ट्रकरटिपरका लागि काठमाडौं प्रवेश गर्दा १२५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क लाग्नेछ।त्यसैगरी, बस तथा सिङ्गल रियर एक्सल ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। मल्टिएक्सल ट्रक तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क लाग्नेछ।