हर्क साम्पाङमाथि ट्राफिक प्रहरीले गर्याे कारबाही

हाम्रो पेज

२५ जेष्ठ २०८३, सोमबार १९:४२
‘लापरवाहीका साथ सवारी चलाएको’ कसुरमा हर्क साम्पाङलाई कारबाही


विराटनगर २५ जेष्ठ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्कराज राईलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। सामाजिक सञ्जालमा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उहाँलाई लापरबाहीपूर्वक सवारी चलाएको कसुरमा कारबाहीको दायरामा ल्याएको हो। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले साम्पाङलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ १० ङ १८ बमोजिम लापरवाहीका साथ सवारी चलाएको कसुरमा कारबाही गरेको छ ।प्रहरीले फेसबुक पोस्टमा भनेको छ, “सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानुनी कारबाही गरिसकेको जानकारी गराइन्छ ।”

साम्पाङले सवारी चलाउँदा न्यूनतम सुरक्षा मापदण्ड र ट्राफिक नियम पालना नगरेको दृश्यसहितको भिडियो आफैँले पोस्ट गर्नुभएको थियो । सोही भिडियोलाई प्रमाणका रूपमा लिएर ट्राफिक प्रहरीले उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो। सडक सुरक्षा र कानुनी मर्यादाको बर्खिलाप हुने गरी गतिविधि गरेको ठहर गर्दै उनलाई कानुन बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ। सांसद साम्पाङ गत जेठ २२ गते उदयपुरको बेलकामा आयोजित एक सार्वजनिक कार्यक्रममा सहभागी हुन कटारीतर्फ जाँदै थिए। सोही यात्राका क्रममा उहाँ सवार सवारी साधन दुर्घटनामा परेको थियो। दुर्घटनाका कारण उहाँको हातमा चोट लागेको र सो चोटसहितको भिडियो उहाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको थियो ।

सोही यात्राका क्रममा खिचिएको अन्य भिडियोहरूमा उहाँ नियम मिचेर सवारी चलाइरहेको देखिनु भएको थियो । दुर्घटनापश्चात् सार्वजनिक गरिएको भिडियोमा उहाँले आफ्नो स्वास्थ्य अवस्था र दुर्घटनाका बारेमा जानकारी दिए पनि सवारी चलाउँदा अपनाउनुपर्ने नियमलाई बेवास्ता गर्नुभएको थियो । ट्राफिक प्रहरीले पछिल्लो समय सामाजिक सञ्जालमा पोस्ट गरिने भिडियो र तस्विरहरूलाई सूक्ष्म निगरानी गर्दै आएको छ। डिजिटल गस्ती मार्फत नियम मिचेको स्पष्ट देखिने सामग्री सार्वजनिक भएमा सम्बन्धित व्यक्तिलाई खोजेर कारबाही गर्ने नीति अन्तर्गत नै सांसद साम्पाङलाई कारबाही गरिएको हो।