हाम्रो पेज

विराटनगर, २४ जेष्ठ । कोशी प्रदेश सरकारले आफ्ना मन्त्रालय र मातहतका कार्यालयहरूमा साबिक बमोजिम नै हप्ताको ६ दिन कार्य दिन कायम गर्ने तयारी गरेको छ । पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले सुरु गरिएको हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था प्रभावकारी नभएको निष्कर्ष निकाल्दै सरकारले यस्तो गृहकार्य अघि बढाएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा सुझाव माग्दै दुई दिने बिदा नीतिले सोचेजस्तो उपलब्धि नदिएको भन्दै बिदा बारे सामाजिक संजालमार्फत सुझाव माग्नु भएको छ ।
‘कोशी प्रदेश सरकारले आफ्ना मन्त्रालय र मातहत अफिसलाई हप्ताको ६ दिन नै कार्य दिन बनाएर साबिक झैँ बिदा शनिवार १ दिन मात्रै काम गर्दा कस्तो होला ? हप्ताको ५ दिन मात्रै काम गर्दा कार्य दिन नपुग्ने र खर्च तथा इन्धन बचत खासै उपलब्धि देखिएन । यहाँको सुझाव पाउँ ,’ मुख्यमन्त्री कार्कीले लेख्नु भएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको र आपूर्ति असहज भएपछि बालेन शाह नेतृत्वको सरकार गठन भएलगत्तै गएको चैत २२ गतेदेखि शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा आएको थियो ।
इन्धन खपत र प्रशासनिक खर्च घटाउने मुख्य उद्देश्यसहित यो नियम देशैभर लागू गर्ने प्रयास गरिएको थियो ।
यो व्यवस्था लागू भएपछि कतिपय स्थानीय तहले यसलाई अस्वीकार गर्दै साबिककै व्यवस्थाअनुसार कार्यालयहरू सञ्चालन गरे पनि अधिकांश सरकारी कार्यालय र स्थानीय तहले यसको पालना गरेका थिए । तर, दुई दिन बिदा दिँदा सेवाग्राही मारमा परेको, सरकारी कामकारबाही सुस्त भएको र मुख्य उद्देश्य भनिएको इन्धन तथा प्रशासनिक खर्च बचतमा कुनै ठुलो परिवर्तन नदेखिएको भन्दै कतिपयले आलोचना गर्दै आएका छन् ।
केन्द्र सरकारले पनि असार १ गतेदेखि आइतबारको बिदा कटौती गर्न सक्ने खबरहरु समेत बाहिरिएका छन् । तर आइतबार केही मिडियामा सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको छ प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताइन्। उनले भनिन्, ‘यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन र अहिलेका लागि यस सम्बन्धमा कुनै तयारी पनि छैन।’